नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ प्रिमियर
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर १५, शनिबार
अहिले गीत भनेको सुन्नेमात्र नभइ हेर्ने माध्यम बनेको छ । अरु भाषामा जस्तै नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार विश्वज्योति सिनेमा भवनमा नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो प्रिमियर भएको छ ।

नेपालभाषाको कला तथा संगीत जगतमा डान्सिंग क्वीनका रुपमा परिचय बनाएकि आराध्य लक्ष्मी खडगीको मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र क्षेत्रकी आमा भनेर चिनिने ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह प्रमूख अतिथीको रुपमा उपस्थित भएको उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री सिंहले नेपालभाषाको कला क्षेत्रले व्यापकता पाउँदै गएकोमा खुसी व्यक्त गरिन् । वर्तमान समयमा नेपालभाषाको कला क्षेत्रमा महिला कलाकारहरुको साथमा महिला निर्देशक पनि देखिन थालेको भन्दै कलाकार, निर्देशक आराध्यलक्ष्मी खड्गीलाई अगाडी बढ्न शुभकामना दिइन् ।

आयोजकका तर्फबाट बोल्दै निर्देशक, कलाकार खड्गी र कलाकारको साथमा मतिना इन्टरटेनमेन्टका संस्थापक विजयमान सिंहले आफुहरुले निकै मिहिनेत गरेर स्तरीय म्यूजिक भिडियो निर्माण गर्न कोशिश गरेको बताउँदै नेवाः कला र कलाकार क्षेत्रलाई माया गरिदिन अनुरोध गरे ।
कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ कलाकार नारायणदेवी प्रधान, राजमति चलचित्रकी राजमति हिसिला महर्जन, वरिष्ठ निर्देशक तथा कला तथा साहित्य अन्वेषक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायतले आआफ्ना विचार राखेका थिए ।
साथमा ‘छंगु मतिना’ र ‘पानवती मैयाँ’ की सह कलाकार सुर्जलक्ष्मी खड्गी र ‘छंगु मतिना’का गायक राजकुमार मानन्धरले पनि आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा गीत र म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । साथमा कलाकार, निर्देशक खड्गीकी हजुरआमा विजुलीमाया खड्गीलाई विशेष सम्मान गरिएको थियो ।
सार्वजनिक गरिएको गीत ‘लिक्क लिक्क’ को रचना, संगीत डबल शाक्यको रहेको छ भने शाक्य र रत्नशोभा महर्जनले गाएका छन् । आराध्यालक्ष्मी र श्रीकृष्ण खड्गीको अभिनय रहेको छ भने निर्देशन राजेशमान सिंहले गरेका छन् ।
त्यस्तै आनन्द रत्न बज्राचार्यको रचना र अनिल तुलाधरको संगीत रहेको ‘पानवती मैयाँ’मा निशा देसारले आवाज दिएकी छिन् । आराध्यालक्ष्मीले विजयमान सिंहसँग अभिनय गर्नुका साथै म्यूजिक भिडियोको निर्देशन पनि गरेकी छिन् ।
राजकुमार मानन्धरले ‘छंगु मतिना’ गीतको रचना गरेर संगीत दिनुका साथै गाएका पनि छन् । गायनमा राजकुमारलाई निशा देसारले साथ दिएकी छन्र । यस गीतमा पनि विजयमान सिंह र आराध्यालक्ष्मीले नै अभिनय गरेका छन् भने कोरीयोग्राफी र निर्देशन पनि आराध्याकै रहेको छ ।
तीनवटै म्यूजिक भिडियाको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
‘छंगु मतिना’ को म्यूजिक भिडियो मतिना इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । ‘पानवती मैयाँ’ र ‘लिक्क लिक्क’ को म्यूजिक भिडियो पनि चाँडै नै मतिना इन्टरटेनमेन्ट युट्युब च्यानलबाटै सार्वजनिक हुने जानकारी निर्देशक, कलाकार आराध्यलक्ष्मीले दिएकी छिन् ।
फोटो - बिक्रम खडगी
Categorized in साहित्य-कला

