नेवार समुदायलाई नेतृत्वको लागि अघि बढ्न आग्रह
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १४, बुधबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदाय अहिले संकटको अवस्थामा पर्दै गएको विचार राख्नुभएको छ । काठमाडौंमा मंगलबार नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म कुनै न कुनै रुपमा निरन्तर भइरहेको श्रेष्ठको भनाई थियो । ‘गएका दिनमा विदेशमा मन्दिर, विहार, मूर्ति आदि बनाउनुपरे नेपालबाट कलाकार बोलाउने गथ्र्यो र त्यस्ता प्राय कलाकारहरु नेवार समुदायबाटै हुने गर्दथ्यो । तर, आज नेपालमा केही बनाउनुपरे भारतबाट कामदार झिकाउनुपर्ने अवस्था आयो भनेर श्रेष्ठले भन्नुभयो ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवसर भएको समयमा एक आपसमा दोषारोपण, विरोध गरेर बस्नुभन्दा अवसरको सदुपयोग गर्नमा लाग्न आग्रह गर्नुभयो । रानीपोखरी, कमलपोखरी लगायतका सम्पदा पुनर्निर्माणको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यले कुनै ऐतिहासिक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा पूर्वाग्रह राखेर विरोध हुने गरेको दावी गर्नुभयो । त्यसैगरी नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले कथित विकासको नाममा काठमाडौं उपत्यकामा नेवार समुदायलाई विस्थापित गर्ने काम भइरहेको बताउनुभयो । मेगा सिटी, स्मार्ट सिटीको नाममा नेवारलाइृ अल्पमतमा पार्ने र हरेक क्षेत्रबाट नेवारलाई विस्थापित गर्न खोजिरहेको श्रेष्ठको दावी थियो ।
कार्यक्रममा जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले ‘नेवाःको भविष्य’ विषयमा महासंघको अवधारणा प्रस्तुत गर्नुभएको थियो । ५ पृष्ठको सो अवधारणा पत्रमा राज्यले नेवाः समुदायको भाषा र संस्कृतिपछि अब भूमि पनि खोस्न खोजेको दावी गरिएको छ । आफ्नो भाषा, संस्कृति र भूमिको संरक्षण गर्दै राजनैतीक रुपमा पनि सचेत भएर नेतृत्व लिन अघि बढ्न अध्यक्ष खड्गीले आग्रह गर्नुभयो । गोष्ठीबाट समुदायमा विद्यमान समस्याको पहिचान गर्दै आउने दिनहरुमा पनि समुदायबीच छलफल, अन्तरक्रिया गर्दै समस्याको समाधानमा लाग्ने जानकारी खड्गीले दिनुभयो ।
महासंघका उपाध्यक्ष न्हुछेँकाजी महर्जनले अवसरको सदुपयोगमा नेवार समुदाय धेरै ठाउँमा चुकेको विचार राख्नुभयो । लहलहैमा लागेर विरोध गर्ने प्रवृत्ती निकै रहेको भन्दै उपाध्यक्ष महर्जनले अवसरको खोजी पनि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले सबै राजनीतिक पार्टीका नेवार नेता, कार्यकर्ताहरुले मोर्चावन्दी नै गर्दै समुदायको विकास र हितमा लाग्नुपर्ने सुझाव राखेका थिए ।
Categorized in राजनीति

