न्यूरोड क्षेत्रमा पसल खाेल्ने र बन्द गराउनेबीच घम्साघम्सी, सवारी होल्डकाे नीतिमा प्रहरी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार
काठमाडौं । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।
यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पनि पसलहरु खाेल्न आह्वान गरेका थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो निर्णयपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै पसल बन्द गराउने गरेका छन् ।
काममा हिँडेका सर्वसाधारणलाई समेत राेक्दै प्रहरी
सरकार मोडालिटीमै अलमलिदा व्यापारीमात्रै होइन सर्वसाधारणहरुले पनि उस्तै सास्ती पाएका छन् । ७५ दिन लामो लकडाउनपछि काम विशेषले हिँडेका सर्वसाधारणहरुलाई प्रहरीले बाटोमै रोकिदिने गरेको छ ।
प्रहरीले बाटोमा हिँडेका निजी क्षेत्रका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा आम सर्वसाधारणलाई रोकिदिने गरेको हो । प्रहरीले सवारीसाधन लिएर हिँड्ने सबैलाई होल्ड गर्ने नीति लिएको छ ।
मंगलबारमात्रै करिब २ हजार मोटरसाइकललाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ । भद्रकालीमा त अझ एक सयभन्दा धेरै मोटरसाइकल र ४ वटा ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलमै पनि ९ वटा मोटरसाइकल रोकिदिएको छ । सरकार मोडालिटीमा अलमलिँदा काठमाडौंका चोकचोकमा यसरी नै सर्वसाधारणहरुले सास्ती खेपिरहेका छन् ।
Categorized in उपत्यका