पुरानै मन्त्रीहरु समेटिएको मन्त्रिपरिषद् विस्तार
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा ४३औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई मन्त्रिमण्डलमा समेटेका छन् । प्रधानमन्त्री ओलीले ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ, प्रभु साह, भानुभक्त ढकाल र मणिचन्द्र थापालाई मन्त्रीमा पुन: नियुक्त गरेका छन् ।
यस्तै, पद्मा अर्याल, बसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, जुलीकुमारी महतो र दामा लामा तामाङ पनि पुन: मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूलाई शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
यस्तै, प्रधानमन्त्री ओलीले नवराज रावत, विमला विक र रामवीर मानन्धरलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरूलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
२७ वैशाखमा प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बनाउन तीन दिनको समय दिएकी थिइन् ।
तर, राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि प्रधानमन्त्रीको दाबी नै पेस नगरेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।


