प्रदेश ३ मा लोकसेवा आयोग गठन हुने
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ४, बुधबार
प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने लगायत तीन वटा निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने, प्रदेश एकीकृत अनुदान व्यवस्थापन कार्यविधि २०७६ को मस्यौदा स्वीकृत गर्ने र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरबन्दीलाई स्वीकृति दिने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्याविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । प्रस्तुत विधेयक प्रदेशसभामार्फत पारित भएपछि प्रदेशमा लोकसेवा आयोग गठन हुने उहाँले बताउनुभयो । प्रदेशसभाबाट विधेयक पास भएपछि आयोग गठनसँगै कर्मचारी भर्ना गर्ने बाटो खुल्ने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्लेपर्यटक विकास आयोजनामा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने पर्यटन विकास आयोजनामा यसअघि प्राविधिकको दरबन्दी नहुँदा आयोजनाको धेरै काममा समस्या भएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि आयोजनाको काम गर्नका लागि बाटो खुलेको जनाइएको छ ।
‘प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालय’
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ का प्रत्येक स्थनीय तहमा एक प्राविधिक शिक्षालय निर्माण गर्ने कामलाई प्रदेश सरकारले जोड दिने बताउनुभएको छ । आज उत्तरी मकवानपुरको थाहा नगरपालिका– ७, डाँडाबासमा भूकम्पपछि जापानी सहयोगमा निर्मित सुन्दरीदेवी माध्यामिक विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त धारणा राख्नुभएको हो ।
प्राविधिक शिक्षा भन्दैमा जस्तो पायो त्यस्तो नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरी प्रदेशसँगै देशलाई समृद्ध बनाउन कस्तो शिक्षालय खोल्नुपर्ने हो र कस्तो जनशक्तिको आवश्यकता छ भन्ने अध्ययनपछि मात्रै शिक्षालय खोल्नुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय