STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रलिशा शाक्यले बनिन् ‘मिस नेवाः ११४५’

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण ५, सोमबार

नेप्लीज फेसन होमले आयोजना गरेको ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले जितेकी छिन् । कमलादीस्थित प्रभा भवनमा आयोजित एउटा भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि जितेकी हुन् । ‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरु प्राप्त गरिन् ।

नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तिर्ण गरेकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छिन् । सन्चारकर्मि मञ्जु बज्राचार्य तथा हस्तकला उद्यमी प्रदिप शाक्यकी सुपुत्री प्रलिशा पाँच फिट तीन ईन्च अग्ली छिन् । रोचक कुरा के छ भने नेप्लीज फेसन होमले नै सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशा मुख्य उपाधि नै जितेकी थिइन् । प्रलिशा पछिल्लो एक दशकदेखि सञ्चार माध्यममा पनि आवद्ध छिन् भने झीगु सः नामक टिभि प्रोग्राम पनि सन्चालन गरीसकेकी छिन् । यो प्रतियोगितामा प्रलिशाले बेस्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जित्न सफल भएकी छिन् ।

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिहरुबीचको यो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, नैकापकी लूनिभा मानन्धरले फस्ट रनर्सअपको उपाधि जितिन् भने चमती, काठमाडौंकी लुमना महर्जनले थर्ड रनर्सअपको उपाधिमा जित्न सफल भइन् । उनीहरुले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरे ।

प्रतियोगिताका अन्य विजेताहरुतर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्टका साथमा सोसल वेलफेयर सेकेण्ड रनर्सअपको उपाधि पनि जितिन् भने अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर्सअप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपको उपाधि जितिन् । प्रतियोगितामा रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि जितिन् भने डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअपको उपाधि जितिन् । प्रतियोगितामा प्रसिद्धि शाक्यले मिस डिसिप्लिनको उपाधि जितिन् भने अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड जितिन् ।

प्रतियोगिताका अन्य अवार्डहरुमध्ये प्राश्ना श्रेष्ठले बेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले बेस्ट हेयर, रमुना बज्राचार्यले बेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले बेस्ट स्माइल, शुवास्ना श्रेष्ठले मिस चार्मिङ तथा रुजी शाक्यले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए ।

प्रतियोगितामा सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहेकी थिइन् । प्रतियोगितामा अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२४एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणि श्री बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी, नमूना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ तथा मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायकको रुपमा रहेका थिए ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्यूटी कन्टेस्ट मात्र नभएर नेवार समुदायको कला र संस्कृति सम्बर्द्दन एवं प्रवर्द्दन गर्ने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउँदै प्रतियोगिताले नेवारी कला र संस्कृतिलाई उजागर गर्ने प्रयास रहेको उल्लेख गरिन् । प्रतियागिताका सह–आयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जनले मिस नेवाः ११४५ भव्यतापूर्वक सफल भएको बताउँदै यसले नेवार समुदायका प्रतिभाशाली चेलीहरुको प्रतिभा, नेवारी कला, संस्कृति तथा भाषालाई उजागर गर्न सफल भएको बताएका छन् ।

रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा आयोजित प्रतियोगितामा राजु नापित नेपाल भाषा तथा लिपी प्रशिक्षकको रुपमा रहेका थिए । मिस नेवाः ११४१ की विजेता कृषा महर्जनको मुख्य संयोजनमा सम्पन्न भएको यो प्रतियोगितामा मिस नेवाः ११४३ की विजेता सकिना मजर्हन तथा सोसल वेलफेयर एम्बासडर चिफ ११४३ तिमिला महर्जन संयोजकको रुपमा रहेका थिए ।

प्रोफेसर डाक्टर बिमला शाक्यको सभापतित्वमा आयोजना गरिएको यो प्रतियोगितामा पूर्व मन्त्री पशुपति शमसेर जबरा प्रमुख अतिथिको रुपमा रहेका थिए । समारोहमा विशेष अतिथिहरु उप्रेती समाज सेवा समितिका अध्यक्ष सोबित उप्रेती तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।

समारोहमा नमूना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर/प्रिन्सिफल ज्ञानी शोभा तुलाधर, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मल रत्न शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल, काठमाडौं महानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष नुच्छेकाजी महर्जन, चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, डिस्ट्रिक्ट गभर्नर ३२५के निरा बज्राचार्य विशेष अतिथिको रुपमा रहेका थिए ।

Categorized in साहित्य-कला