बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार
सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश कर्णले जानकारी दिनुभयो ।
बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका स्थानीय ३०० बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
यसैगरी जिल्लाको कर्जन्हा गाउँपालिका, लहान नगरपालिकाको विभिन्न वडालाई लक्षित गरी बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको अधिकृत कर्णको भनाइ छ । शिविरमा दुषित पानी, खाना तथा वातावरणका कारण हुने कमलपित्त, झाडापखाला, ज्वरो, रुघाखोकी, वान्ता आउने, रिङ्गटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधिको समेत प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय