बैतडीमा सोमबारदेखि निषेधाज्ञा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, रुपन्देही र कपिलवस्तुमा लगाइएकाे निषेधाज्ञा थप
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार
काठमाडाैं – देशैभर काेराेना संक्रमित बढेसँगै सरकारले निषेधाज्ञा नभएका ठाउँमा निषेधाज्ञा लागु गराउनुका साथै लागु भइरहेका जिल्लाहरुमा निषेधाज्ञाकाे अवधि बढाएका छन् । सिन्धुपाल्चोक, सुनसरी, कास्की, रुपन्देही र कपिलवस्तुमा लगाइएकाे निषेधाज्ञाकाे अवधि बढाइएकाे छ ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडी जिल्लामा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ । यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
सिन्धुपाल्चोकमा एक साता लकडाउन थप
यसैगरी छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ १४ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड–१९ का सङ्क्रमित देखिएकाले थप फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले जानकारी दिनुभयो । यस निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।
होटल तथा रेष्टुराँ, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । हालसम्म जिल्लामा ८६ जनामा सङ्क्रमण देखिएकामा ७४ जना निकोभई घर फर्केका छन्, तीन जनाको मृत्यु भएको र ९ जना उपचारत छन् ।
लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिनुभयो ।
सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा
सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तथा फैलिन नदिन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो । अति आवश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।
कास्कीमा अझै ५ दिन निषेधाज्ञा
कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै यही भदौ २ गते बसेको जिल्ला सिसिएमसीको बैठकले यही ७ गते मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोको समयावधी आज राति सकिँदै छ ।
ढकालका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् । प्रहरीले सर्वसाधारणलाई हिँडाइमा कडाइ गरेको छ । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णय भएको भएको छ ।
रुपन्देही र कपिलवस्तुमा लकडाउन र निषेधाज्ञा
रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ । जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेका छौँ ।’
जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको जनाइएको छ ।
कपिलवस्तु जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको जिप्रकाले जनाएको छ । अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ ।
Categorized in राष्ट्रिय