STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ६, मंगलबार

काठमाडौं - भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् ।

भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई संवादले केटा साथी भनेर चिनाएको छ । हालसालै सार्वजनिक भएको एक अडिओमा प्रकृतिलाई धम्काउने श्रीवास्तवको अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ ।

प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी पनि दिएको तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

संवादसँग कुरा गरेको भारतीय प्रहरीले मृतकको परिवारलाई जानकारी दिइएको, शंकास्पद व्यक्ति पक्राउ गरिएको र के कारणले मृत्यु भएको हो भन्नेमा अनुसन्धान भइरहेको बताएको छ ।

केआइआइटीले भने आत्महत्या भएको भन्दै सार्वजनिक सन्देश राखेको छ । केआइआइटीले नेपाली विद्यार्थीलाई निस्कन पनि उर्दी जारी गरेको भिडिओ सार्वजनिक भएको छ ।

शोकमा परिवार

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेपछि रुपन्देहीको भैरहवामा रहेका उनका हजुरबुवा देवनाथ लम्साल  शोकमा डुबेका छन् । ७१ वर्षीय लम्साल नातिनी  प्रकृतिको  मृत्युको खबर सुनेसँगै  शोकमा डुबेका हुन् । 

बैङ्क कनौली घर भएका देवनाथका जेठा छोरा  सुनिल लम्सालकी छोरी प्रकृति अध्ययनका लागि भारत  गएकी थिइन् । विगत १० वर्षदेखि सुनिलको परिवारले काठमाडौँ टोखामा मसलाका उद्योग सञ्चालन गर्दै आएको छ भने सुनिलका भाइको परिवार  जापान बस्दै आएको छ । भैरहवामा भने देवनाथ र उनकी श्रीमती मात्रै बस्दै आएको स्थानीय बलराम शर्माले बताए ।  

मृतक प्रकृतिका फुपूका छोरा शिशिर ढकालले भने, ‘यहाँ हजुरबुवा र हजुरआमा ठुलो पिडामा हुनहुन्छ, भर्खर माइजू पनि आउनुभएको छ । हामी बोल्न सक्ने अवस्था छैनौ । भोलितिर कुरा गरौँला, अहिले सबै शोकमा छौँ ।’ 

प्रकृतिका एक जना भाइ रहेका छन् । कुनै बेला नेपाल  राष्ट्र बैङ्कमा जागिर गरेर सुनिलले  काठमाडौँ बसेर छोरा छोरी पढाउने गरेका थिए । प्रकृति सानो छँदै काठमाडौँतिर  गएकी हुन् । उनी काठमाडमाडौँबाट एसइई गरेपछि उच्च शिक्षाका लागि भारत गएको पारिवारिक स्रोतले बताएको छ । घटना लगत्तै सुनिल आइतबार काठमाडौँबाट भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरतिर लागेका छन् । प्रकृति केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

प्रकृतिको शव अस्पतालमा राखिएको छ । मृतकको मङ्गलवार मात्रै पोस्टमार्टम गरिने भएको छ । परिवारका अनुसार दसैँ बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज पुगेकी उनी घर आएकी थिइनन् रुपन्देहीको तिलोत्तमा बस्ने फुपू सीता ढकालले प्रकृतिलाई मानसिक तनाव दिएर यस्तो घटना भएको दाबी गरिन् । उनले यस्तो गम्भीर घटनालाई कलेजले बेवास्ता गरेका कारण प्रकृतिको ज्यान गएको बताइन् ।

Categorized in अपराध-दुर्घटना