STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्टचारमा मुछिएका जुनसुकै व्यक्ति वा पार्टीका भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ८, सोमबार

काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन्।

पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उनले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए।

उनले भने, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ ।”

उनले राजनीतिमा रहेकालाई एउटा कानून र सर्वसाधारण नागरिकका लागि अर्को कानून नभएको भन्दै कानून सबैका लागि बराबर भएकाले दोषीलाई कारबाही भएरै छाड्ने आश्वासन दिए।

दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाले भ्रष्टाचारी हुन् की होइनन्, दोषी हुन् की होइनन् भन्ने विषयमा निष्पक्ष छानबिन गरेर दोषीलाई कानूनी दायमा ल्याउन आफूले निर्देशन दिएको उनको भनाइ थियो । उनले भने, “भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।”

समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै उनले कमिशनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जबर्जस्तरूपमा गाँजेको भनाइ राखे। गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्नुहुँदै आर्थिक सामाजिक रूपान्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेको धारणा राखे।

उनले भने, “भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न सकिँदैन ।” समाजवादको आजको मोडल र ढाँचाबारे बहसकै रूपमा रहेको र समाजवाद निर्माणको बाटो के हो भन्ने पनि बहसकै रूपमा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिङ्गो लोकतन्त्रको चुनौतीका रूपमा रहेको बताए।

Categorized in राजनीति