STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २७, बुधबार

काठमाडाैं - मधेस प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन् ।जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि विभिन्न सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदहरूको समर्थन लिएर बुधबार बिहानै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ ।

प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार निर्माण गर्न आह्वान गरेका थिए । केन्द्रमा सत्ता गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, जसपा, जनमत पार्टी र राप्रपाबीच भएको सहमति अनुसार जसपाले मधेस प्रदेशको नेतृत्व लिने सहमति भएकाे थियाे ।

सोमबार जसपाको संसदीय दलको नेता चयन भएका सरोजकुमार यादवले भोलिपल्ट नै सत्ता गठबन्धन दलका नेताहरूसँग सरकार गठनको विषयमा छलफल गरेका थिए । मंगलबार सांसदहरू जनकपुरभन्दा बाहिर रहेकोले बुधबार १२ बजेसम्म सरकार गठनको लागि दाबी पेस गर्ने तयारी भएरहेको जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले बताए । 

१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनसँग रहेका नेकपा एमाले २३, जसपा १६, जनमत १३, माओवादी ८ र राप्रपा १ गरी ६१ सांसद छन् ।

Categorized in राजनीति