मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो ?
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार
मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो भन्ने बुझ्नु पनि यहा प्रासाङ्गि हुन्छ । राजा महेन्द्र मल्लको राज्यकाल (इस्वी १५६० देखि १५७४) मा कान्तिपुर चौबिस इलाका वा पञ्चयातमा बाँडिएको थियो एउटा पञ्चायतको नेतृत्व एकजना पञ्चप्रमाणले गर्दथ्यो । मल्लकालमा यी इलाकालाई टोल भन्न थालेको दखिन्छ । यो शब्द लिच्छविकालीन तल शब्दबाट अपभ्रंश भई आएको हुन सक्छ । लिच्छविकालमा आवाद गरी पाटो पारिएको जग्गाको अर्थमा यस शब्दको प्रयोग आएको पाइन्छ ।। (२४) अन्तरिम कालदेखि नै टोल शब्द प्रयोगमा आएको कुरा हाम्रा प्राचीन अभिलेखहरु देखाउँछन् । जस्तै इस्वी १०९६ मा श्री यंगलस्योत्तर टोल इस्वी १६६९ मा श्रीयंगल दक्षिण टोलक र इस्वी ११६९ मा यंगलोत्तर टोल आदि (२५) । अन्तरिम कालदेखि मल्कालसम्मका हाम्रा प्राचीन अभिलेख तथा हस्तलिखित ग्रन्थहरुमा कान्तिपुर शहरका साथै अन्य टोलहरुको पनि उल्लेख पाइन्छ । बाह्र ठकुरीहरुद्धारा शासित बाह्र इलाका राजा महेन्द्र मल्लको समयमा चौबीस टुक्रामा विभक्त भएका र मल्लकालको अन्तरसम्ममा कान्तिपुरको इलाकामा ३२ वटा टोलहरु खडा भइसकेका देखिन्छन् । (२६) इस्वी १४७४ मा च्येनकन मुगागिटोलका (चिकंमुगलटोल), इस्वी १२५२ मा किसिगल टोल (किलागल) र नौगल्लक (नःघल), इस्वी ११९६ मा मखनटोल, इस्वी १४८० मा वंतुतोरक (वटुटोल), इस्वी १५७५ मा किसिगम्लटोलक, इस्वी १६०५ मा भसन (असन), इस्वी १६०५ मा नवघर (नःघल ?) , इस्वी १६६९ मा असन, तवराछे (तःलाछे) वंगल (इन्द्रचोक), ङेतपिथ्या (ङेत अथवा नरदेवी), ङट्ठटोल (ङेत अथवा नरदेवी) का नाम भेटिन्छ । साथै इस्वी १६३२ र इस्वी १७२३ मा इन्द्रचोक नाम ब्रह्पुरी रहेको भन्ने थाहा पाइन्छ । (२७) चौधौं शताब्दीको अन्ततिर भारतको बङ्गालबाट आएको मुसलमानहरुको आक्रमण र अत्याचारबाट पालवंशीय राजपरिवारका सदस्यहरु र सेनराजपरिवारका सदस्यहरु पनि सुरक्षाको लागि नेपाल तराई र नेपाल उपत्यकाभित्र पसेका थिए । यी बौद्धधर्मालम्बी पालहरुले नेपाल उपत्यकामा धेरै बौद्ध विहारहरुको स्थापना गरेको थिए । (२८) वंशावलीहरुमा राजा महेन्द्र मल्लले कान्तिपुर शहरलाई गुल्जार गर्न धे बस्तीहरु बसालेको हुनाले वंशालीहरुमा यस्तो उल्लेख भएको हो । (२९) राजभोगमालावंशावली अनुसार भास्कर मल्लले (इस्वी १६४१ देखि १६७४) मुसलमानहरु नेपाल उपत्यकाभित्र पसिसकेको कुरा उनको हनुमानढोकामा रहेको संवत् ७७४ (विं.सं.१७१०) जलद्रोणीको अभिलेखमा फारसी अक्षर, काश्मिरी अक्षर परेकोबाट थाहा हुन आउँछ । (३१) साथै मल्ल राजहरुको खानपान लवाइखवाई सबैमा मुगल प्रभाव परेकोबाट पनि यो कुरा सिद्ध हुन आउँछ । कान्तिपुर अथवा काठमाडौं लिच्छविकालमा कोलीग्राम र दक्षिणकोलीग्राम अथवा यम्बु र यंगल भनी दुई भागमा बाँडिएको भए तापनि अन्तरिम कालमा बाह्र ठकुरी राजाहरुद्धारा बाह्र टुक्रा सानासाना राज्यहरुमा विभक्त भएको थियो । तर मल्लकालमा गएर यस शहरामा धेरै टोलहरु भए र यो शहर तीन भागमा मात्र बाँडियो । त्यसबेला माथिल्लो भागलाई थःने, बीचको भागलाई दथु र तल्लो भागलाई क्वःने भनी मुख्य रुपले बिभाजित गरेको पाइन्छ । यो विभाजन परम्परा आजसम्म पनि नेवार समुदायमा चलि नै रहेको पाइन्छ । (३२) मल्लकालमा प्रचलित राजामती नामक एउटा लोकगीतबाट पनि यो कुरा थाहा हुन्छ । उक्त गीतमा एक ठाउँमा थःनेया थंहिति, क्वहिति, दथुइ लाक्क मरुहिति अर्थात् माथिको माथिल्लो धारा अर्थात थहिति, तलको तल्लो धारा अर्थात् क्वहिति र बिचको धारा अर्थात् मरुहिति भनिएको छ । यिनमा उल्लिखित ठहिति बाहेक अन्य दुई ढुङ्गेधाराहरु अझै छदैंकछन् । कान्तिपुर शहरको यो विभाजन प्रत्येक वर्ष मनाइने रथयात्रा परिक्रमा गर्ने बाटोमा पनि स्पष्ट गर्छ । सो जात्राको पहिलो दिन अर्थात् भाद्र शुक्ल चर्तुदशीको दिन उक्त रथयात्रा क्वःने अर्थात् तलतिरका टोलहरु अडकोनारायण स्थान, चिकंमुगल, मजिपाट जैसीलेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, ह्यूमत, क्वहिति, भिमसेनस्थान भई मरुटोलमा कुमारीघर फर्कन्छ । दोस्रो दिन भाद्र शुक्ल पूर्णिमाको दिन उक्त जात्रा थःनेटोलहरु अर्थात् मखन, इन्द्रचोक, भेडासिङि, बाङ्गेमुडा, ह्नैकंतला, असन, केलटोल, र इन्द्रचोक भइ मरु कुमारघर फर्कन्छ । तेस्रो दिन अन्तिम दिन अर्थात् नानिचायाःको दिन उक्त रथयात्रा दथुटोलहरु अर्थात् प्याफल, ढोकाटोल, यटखा, नरदेवी, टङ्गल, ह्न्योखा, बाङ्गेमुडा, भेडासिङ भई मरु कुमारीघर फर्कन्छ ।
( डा. साफल्य अमात्यको काठमाण्डौ नगरायण पुस्तकबाट साभार )
Categorized in राष्ट्रिय