महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १, शनिबार
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनका लागि तयार पारिएको प्रतिवेदन सभामुखलाई बुझाइएको छ।
महाभियोग सिफारिस समितिले शनिबार सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो। समितिले शनिबार नै निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको थियो।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको असहमतिका बीच समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको हो। प्रतिवेदनमा एमालेले आठबुँदे असहमति जायर गरेको सांसद विष्णु पौडेलले जानकारी दिए।
उनले भने, 'प्रतिवेदनमा प्रश्न उठ्दा उठ्दै पनि पारित गरियो। हामीले जबरासँग तथ्य मागिरहेका थियौं। बयान अझै सकिएको थिएन। यो प्रतिवेदन अपुरो छ।' समितिका ११ सदस्यमध्ये सत्तारूढ गठबन्धनमा आवद्ध दलका ६ सांसद पक्षमा तथा नेकपा एमाले र लोसपाका पाँच सदस्य विपक्षमा रहेका थिए।
Categorized in राजनीति

