STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रजिन महर्जनद्वारा निर्देशित डकुमेन्ट्री अन्तर्राष्ट्रिय फेस्टिबलमा छनोट

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ७, बुधबार

महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारीसम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ (Nepal's Menstrual Movement : Tackling Taboos) जर्मनीमा १–३ जुलाई, २०२२ मा हुने १८औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नालिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्ममेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन् । सन् २०१० मा भिडियो एडिटर-एनिमेटरका रूपमा आफ्नो करियर सुरु गरेका महर्जनले १ सयभन्दा बढी टेलिभिजन कमर्सियल, डकुमन्ट्री र पीएसएको निर्देशन गरिसकेका छन् ।

यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत हुन् ।

यो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको छ । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरूले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ । पछिल्लो समयमा सरोकारवाला निकायहरूले महिनावारीमा वर्जित सामाजिक मान्यताहरू परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरू कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।

विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिपर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरूले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्ध भन्दै थुप्रै बन्देज एवम् निषेध गर्ने व्यवहारहरू हुने गरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।

यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेसनल वुमन्स फिल्म फेस्टिबल, २०२२ र डब्लूएचओ हेल्थ फर अल फिल्म फेस्टिबल, २०२२ मा पनि छनोट भएको छ ।

Categorized in सिनेमा