राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र समाजवादीले गराए उम्मेदवारी दर्ता
Janjati Khabar – Janjati Khabar | २०७८ पौष २०, मंगलबार
पुस २०, काठमाडौं - माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट रिक्त रहेको दुई सिटका लागि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी) का एक/एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी (नेकपा एमाले)को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी) ले राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त मनोनयन दर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साईले जानकारी दिए । तामाङ यसअघि भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार रहेका थिए ।
भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजूरी दिने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको बताइएको छ ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता छन् । कुल ११९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जना मात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।
त्यस्तै, प्रदेशसभाका कुल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मतदाता कायम रहेको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ । रासस
Categorized in राजनीति

