STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेडियो नेपालमा दनुवार भाषा भाषा समाचार सेवा शुभारम्भ

Janjati Khabar | २०८१ आश्विन ३०, बुधबार

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताउनुभएको छ ।  
रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि यहाँ एक सय २३ भाषाभाषी र एक सय २७ भन्दा बढी जातजाति रहेको बृहत् देश हो । यी सबै समुदाय, धर्म, भाषाभाषिप्रति राज्यको समान पहुँच स्थापित गर्ने र अपनत्व महसुस गराउने उद्देश्यले सङ्घीय प्रणाली ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।
यद्यपि हालसम्म राज्यमा समावेशीको अभ्यास भए पनि समानुपातिक समावेशी हुन अझै बाँकी रहेको उहाँको भनाइ छ । “समाजमा द्वन्द्व व्यवस्थापन गर्न पनि समावेशिता आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो, “अहिले हामीले समावेशी मात्रै बनाएका छौँ, समानुपातिक बनाउन सकेका छैनौँ ।”
 रेडियो नेपालमा हालसम्म २४ वटा राष्ट्र भाषामा समाचार सेवा प्रदान गरिँदै आइएकामा आजदेखि दनुवार भाषा थपगरी २५ वटा भाषा समाचार सेवा शुभारम्भ गरिएको हो । मन्त्री गुरुङले समावेशी भाषाको पहुँच र विस्तारमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउँदै सरकारको एक सयदिने कार्ययोजनाभित्र यो एउटा महत्त्वपूर्ण कार्यसम्पादन भएको दाबी गर्नुभयो ।
मन्त्री गुरुङले रेडियो नेपाल जनताको सूचनाको मूल स्रोत भएको र यसलाई समयसापेक्ष परिमार्जन गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभयो । दनुवार भाषाको प्रसारण शुभारम्भ कार्यक्रममा सरस्वती दनुवारको आवाजमा प्रत्यक्ष समाचार प्रसारण गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दनुवार भाषाको समाचार सेवा प्रसारणले समग्र दुर्लभ दनुवार समुदायको भाषा, संस्कृति र इतिहास संरक्षण हुने आधार बनेको बताउनुभयो । साथै दनुवार समुदायको आत्मसम्मान र पहिचानसमेत यस सेवाले स्थापित गर्नसक्ने सचिव अर्यालले धारणा राख्नुभयो ।
सचिव अर्यालले सरकार मातहतका गोरखापत्र दैनिकमा ४४ वटा समावेशी समाचार, नेपाल टेलिभिजनमा सात भाषामा समाचार सेवा, राष्ट्रिय समाचार समिति९रासस०मा अवधी भाषा, नेपाल भाषा र मैथिली भाषामा पनि सेवा शुभारम्भ गरेको जानकारी दिनुभयो ।
कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले रेडियो नेपालमा दनुवार भाषाको सेवा प्रसारणले दनुवार समाजलाई एकतामा सूत्रबद्ध गर्न मद्दत गर्ने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले विभिन्न भाषाभाषीलाई जोगाउनु र राज्यको पहुँचसम्म पुर्‍याउन आयोगले पहल गर्दै आएको उल्लेख गर्दै भाषा संरक्षण र सम्वर्द्धनका लागि सरकारले तत्काल भाषा सर्वेक्षण गर्न आवश्यक भएको बताउनुभयो ।
दनुवार जागरण समितिका महासचिव चेतनारायण दनुवारले नेपालमा हालसम्म ५० हजारको हाराहारीमा दनुवार भाषा बोल्ने समुदाय रहेको बताउँदै लोपोन्मुख भाषा जर्गेना गर्न रेडियो नेपालले महत्वपूर्ण कार्य शुभारम्भ गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले दनुवार भाषा भूगोलअनुसार फरक भएकाले थप अध्ययनगरी प्रभावकारी सेवा प्रसारण गर्न सुझाव दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दनुवार भाषामा समाचार सेवा प्रसारणमार्फत समुदायको समस्या सुन्ने र सुनाउने सहकर्मीको भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


Categorized in राष्ट्रिय