STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेविजविरुद्ध भ्याक्सिन सेवा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १६, बिहिबार

नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले बताउनुभयो । “यो सेवाबाट यही जिल्लाका तीन स्थानीय तहका साथै छिमेकी जिल्ला सिन्धुली र रामेछापका बासिन्दा लाभान्वित हुनुहुनेछ”, उहाँले भन्नुभयो । अस्पतालमा नगरपालिकाको सहयोगमा २४सै घण्टा स्वास्थ्य प्राविधिक राखिएको तथा विद्युत् अभावमा ७२ घण्टासम्म भ्याक्सिन सुरक्षित गर्ने फ्रिजको समेत व्यवस्था गरिएको काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय सेवाका लागि थप स्वास्थ्य प्रविधिक राख्न सो सम्बन्धी तालीमको आयोजना गर्न लागिएको छ । नगरप्रमुख टङ्कप्रसाद शर्माले यस भेगका बासिन्दाले रेविजविरुद्धको भ्याक्सिनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता टरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो मात्र नभई छिमेकी जिल्लासमेतलाई लक्षित गरी भ्याक्सिन सेवा राख्न सकिएकोमा खुशी छौँ ।” प्राथमिक स्वास्थ्यचौकीलाई विसं २०६६ मा स्तरोन्नति गरी १५ श्ययाको क्षमता रहेको अस्पतालको रूप दिइएको थियो । अस्पतालमा २४सै घण्टा अन्तरङ्ग–बहिरङ्ग सेवा, गर्भ जाँच तथा प्रसूति सेवा उपलब्ध गराइँदै आइएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म जिल्ला अस्पताल छैन ।
Categorized in राष्ट्रिय