लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार
काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्दै छ ।
स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।
लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक
उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेकाे छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेकाे हो ।
बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेकाे स्रोतले बतायो ।
लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीनवटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको जनाइएकाे छ ।
लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।
Categorized in राष्ट्रिय