ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार
काठमाडौं – नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन आज ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)लाई ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको छ ।
लकडाउनको समय धार्मिक परम्पराले निरन्तरता नपाइरहेको अवस्थामा शुक्रबार ललितपुरको मंगलबजार दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखियो ।
सिंहासन र पौभाको प्रदर्शनसँगै कात्ति डबलीमा दाफा भजन गाउने परम्परालाई पनि निरन्तरता दिइएको कात्ति नाच व्यवस्थापन समितिका सञ्जय शर्मा राजोपाध्यायले जनजाति खबरलाई जानकारी दिएका छन् ।
दाफा भजनमा मल्ल राजा सिद्धिनरसिंह मल्लद्वारा रचित ३१ वटा भजन गाउने परम्परा रहिआएको छ । कृष्णलीलासँग सम्बन्धित मेघमल्हार रागमा गाइने यी भजनसहितको पौभा पनि प्रदर्शनमा राखिएकाे हो ।
योसँगै सिद्धिनरसिंह मल्लया छोरा राजा श्रीनिवास मल्ललाई दान दिइएको सिंहासन पनि दरबार क्षेत्र परिसरमा प्रदर्शनमा राखिने परम्परा रहिआएको छ ।
पाटन ओकुबहालस्थित जोथाजु शाक्यले सम्यक महादान पर्वको अवसरमा सो सिंहासन राजा श्रीनिवास मल्ललाई दानमा दिएका थिए ।
Categorized in उपत्यका