लिखित पत्र बुझाएर प्रधानमन्त्री र प्रचण्डबीचको छलफल टुंगियो
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २२, शनिबार
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।
बिहान ११ बजेदेखि बसेको बैठक दुई घण्टा चलेको थियो । बैठकमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बुझिएको छ ।
शुक्रबार प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकको निष्कर्षअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
शनिबार भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्।
पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
लिखित पत्र बुझेपश्चात् प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताइएको छ।
प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी थिए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा चार सचिवालय सदस्य भने अनुपस्थित थिए ।
अनुपस्थित हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा थिए ।
Categorized in राजनीति

