वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई आधुनिक कला सम्मान
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार
सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)ले वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई कलाकार लैनसिंह वाङ्देलका स्मृतिमा स्थापित ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्ने भएको छ । सोमाको आयोजनामा नेपाल कला परिषद्मा आगामी भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–६’ का अवसरमा सो सम्मान प्रदान गर्न लागिएको सोमाका महासचिव जीवन राजोपाध्यायले जानकारी दिनुभयो । सोही अवसरमा कलाकार हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईलाई मरणोपरान्त सम्मान गरिने जनाइएको छ । कलापुञ्जअन्तर्गत बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत डङ्गोल, मास्के र राईका चित्र रहनेछन् । विसं २०६४ मा स्थापित सोमाले यसअघि काठमाडौँ र धरानमा गरी पाँच प्रदर्शनी सम्पन्न गरिसकेको छ । प्रदर्शनीकै क्रममा डा यामप्रसाद शर्माद्वारा कलाकारका व्यक्तित्व र चित्रकारिता समेटी तयार गरिएको पुस्तक ‘समसामयिक नेपाली चित्रकलाः एक पृथक समूह’(कन्टेम्पोरेरी नेपाली पेन्टिङसः अ डिस्टिङ्क्ट क्लष्टर) पनि विमोचन हुनेछ ।


