शंखधर साख्वाः सामाजिक कल्याणकाे प्रतीक – मल्ल के. सुन्दर
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २९, सोमबार
कथासङ्ग्रह ‘धुक्धुक् धुक्धुक्’ विमाेचित
काठमाडौं, २९ कार्तिक २०७८ – शंखधर साख्वाःलाई सामाजिक कल्याणकाे प्रतीककाे रूपमा लिएकै कारण सरकारले राष्ट्रिय विभूति घोषणा गरेकाे हाे र याे कुरा अब सम्पूर्ण अभियन्ताहरूले बुझ्न आवश्यक रहेकाे नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएकाे छ ।
शंखधर दिवस मनाउने क्रममा काठमाडौंस्थित शंखधर पार्कमा आइतवाः सम्पन्न एक विशेष कार्यक्रममा विशेष अतिथिकाे रूपमा मन्तव्य दिनुहुँदै मल्ल के. सुन्दरले साे कुरा बताउनुभएकाे हाे ।
“भगवान् बुद्धलाई विश्व शान्तिका दूत मानी नेपालले राष्ट्रिय विभूति घोषणा गरे जस्तै शंखधर साख्वाःलाई सामाजिक कल्याणकाे प्रतीककाे रूपमा लिई राष्ट्रिय विभूति घोषणा गरिएकाे हाे । यसलाई नेपाल संवत् आन्दोलनका सम्पूर्ण अभियन्ताहरूले थाहा पाउन जरूरी छ,” मल्ल के. सुन्दरले बताउनुभयो ।
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेकाे दिन कछलाथ्व १० लाई शंखधर दिवसकाे रूपमा मनाउँदै आएकाे छ । साख्वाःले आफूसँग भएकाे सम्पत्तिले सारा जनताकाे ऋण चुक्ता गरी नेपाल संवत्काे प्रवर्तन गरेका थिए ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ काे अनुराेधमा काठमाडौं महानगरपालिका २५ र २८ वडाका स्थानीय संघसंस्थाहरूकाे आयाेजनामा सम्पन्न साे कार्यक्रममा कथाकार राकेश महर्जनकाे कथासङ्ग्रह ‘धुक्धुक् धुक्धुक्’ पुस्तक पनि विमाेचन गरिएकाे थियाे ।
न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शाक्यलगायत नेवार अगुवा मल्ल के. सुन्दर, नागार्जुन पब्लिकेशनका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र साहित्यकार नारद वज्राचार्यले संयुक्त रूपमा पुस्तक विमाेचन गर्नुभएकाे थियाे ।कार्यक्रममा काठमाडौं महानगरपालिका २७ वडाका वडाध्यक्ष चिनियाकाजी वज्राचार्यकाे पनि उपस्थिति थियाे ।
विमाेचित कथासङ्ग्रहलाई नागार्जुन पब्लिकेशनले प्रकाशन गरेकाे हाे ।
विमाेचित पुस्तकबारे मन्तव्य दिनुहुँदै साहित्यकार वज्राचार्यले नेपालभाषा कथा साहित्यमा नयाँ प्रयोग लिएर पुस्तक प्रकाशित भएकाे बताउनुभयाे । नेपालभाषा कथा साहित्यमा आजभोलि मनोविश्लेषणात्मक कथा लेखन कम भएकाे अवस्थामा यसकाे पूर्ति कथाकार महर्जनले गरेकाे बताउँदै मनोविश्लेषणात्मक कथा क्षेत्रमा उदाहरणीय कथासङ्ग्रहकाे रूपमा लिने सकिने बताउनुभयाे ।
ज्याझ्वलमा शंखधर साख्वाःकाे तस्बिर अंकित कपि पनि सार्वजनिक गरिएकाे थियाे ।
ज्याझ्वलमा जगतसुन्दर ब्वनेकुथि मा.वि.का प्रिन्सिपल सुनिता मानन्धरसहित ब्वनेकुथिका ९ र १० कक्षाका विद्यार्थीहरूकाे पनि उपस्थिति थियाे । उपस्थित विद्यार्थीहरूलाई सार्वजनिक गरिएकाे कपि पनि दिइएकाे थियाे ।
ज्याझ्वलमा २५ वडाका समाजसेवी रोशनकाजी तुलाधरले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने २५ वडाका वडासचिव परिवेश वज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमलाई दिपक तुलाधरले सञ्चालन गरेका थिए ।
शंखधर साख्वाःकाे तस्बिरसहितकाे बेलुन उडाई नाैलाे तवरले उद्घाटन गरिएकाे कार्यक्रमकाे समापनपछि शंखधर पार्कमा दीपावली पनि गरिएकाे थियाे ।
Categorized in उपत्यका

