श्रावण २७ गते जनैपुर्णिमा ः कीर्तिपुरमा नाईट सम्पदा यात्रा
Janjati Khabar – –ललेन्द्र शाक्य– | २०७९ श्रावण २१, शनिबार
कीर्तिपुरको ‘बहाः चाःहिलेगु’ परम्परालाई अझ रौनक एवं ऐतिहासिक यथार्थमा परिवर्तन गर्नको लागि जोशीननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्टको आयोजनामा नाईट हेरिटेज वाक (रात्रीकालीन सम्पदा यात्रा) आयोजनाको लागि पत्रकार सम्मेलन गरेको छ ।
२०७९ श्रावण २० गते शुक्रबार कीर्तिपुर १० वडास्थित जोशी ननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्ट परिसरमा भएको उक्त पत्रकार सम्मेलनमा श्रावण २७ गते शुक्रबार जनैपुर्णिमा (गुन्हुपुन्ही)का दिन जोशी ननी हेरिटेज होम्स रेष्टुरेन्टको आयोजनामा कीर्तिपुरमा हुने बहाः चाःहिलेगु पर्वको अवसरमा हुनलागेको ‘नाईट हेरिटेज वाक’ सम्बन्धी जानकारी कासाथ सल्लाहकार पन्नारत्न बज्राचार्यले कीर्तिपुरको परिचयसहित चिलंच्व(थु दोँ) चैत्यको परिचय, जगतपाल महाविहार अन्तर्गतका शाखा (कचा) बहाः बहीहरुको जानकारी, कीर्तिपुरको सांस्कृतिक सम्पदा, गाईजात्रा पर्वको विशेषता, रात्रीकालीन सांस्कृतिक पदयात्रा किन ? र रात्रीकालीन सांस्कृतिक पदयात्राको आकर्षण सम्बन्धी जानकारी दिनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि ७४ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको सन्दर्भ जोड्दै पत्रकार सम्मेलन आयोजक संस्था अध्यक्ष शरद मंगल जोशीले सरकारको घोषणामा काठमाडौं उपत्यकाभित्र रात्रीकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन गर्ने तयारी गरिएको अवस्थामा जोशी ननी हेरिटेज होम्सले घोषणा गरेकै महिनामा रात्रीकालीन समय उक्त सम्पदा यात्रा सुरु गर्ने जानकारी दिनुभयो ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न हुनलागेको रात्रीकालीन सम्पदा यात्रा कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई समेत प्रवद्र्धन गर्न पनि उक्त यात्रा हुनलागेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा कीर्तिपुर १० वडास्थित जोशी ननी, सिंद्वा, चिलञ्चो लगायत समग्र कीर्तिपुर क्षेत्रमा विदेशी तथा स्वदेशी चलचित्र छायांकनको लागि आह्वान समते गरेको छ ।

नेपाल सरकारले यस भ्रमण दशकमा गैर आवासीय नेपालीसंको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत संचालन गर्ने घोषणा गरिसकेको अवस्थामा जोशी ननी हेरिटेज होम्स्मा नेपाली तथा विदेशीहरु बस्ने, सुत्ने र खाने व्यवस्था पनि भएको हुँदा पत्रकार सम्मेलनमा उपस्थित समस्त संचारमाध्यमबाट ऐतिहासिक नगर कीर्तिपुर घुम्न र बस्नको लागि देशविदेशमा महत्वपूर्ण समाचार सम्प्रेषण हुने आशा पनि आयोजक संस्थाले लिएको छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न जोशी ननी हेरिटेज होम्सले पर्यटकहरुको लागि एक दिन, दुई दिन र तीन दिनको प्याकेज प्रोग्राम पनि ल्याउने जानकारी दिदै जोशी ननी हेरिटेज होम्सका अध्यक्ष शरद मंगल जोशीले श्रावण २७ गते शुक्रबार हुने रात्रीकालीन सम्पदा यात्रामा सहभागी हुने व्यक्तित्वहरुले रु. ५००/– को टिकट लिई सहभागी हुनपाउने र उक्त टिकटमा बेलुकाको खानाको पनि व्यवस्था भएको जानकारी उक्त पत्रकार सम्मेलनमा दिनुभयो ।
रात्रीकालीन सम्पदा यात्रा बेलुका ७ बजेबाट सुरु हुने जानकारी दिदै अध्यक्ष जोशीले बेलुका ७ बजेदेखि ९ बजेसम्म खाना खाई सक्नुपर्ने र ९ बजेपछि सम्पदा यात्रा शुभारम्भ हुने जानकारी पनि दिनुभयो ।

उक्त रात्रीकालीन सम्पदा यात्राले कीर्तिपुर डाँडोमा अवस्थित चीभाः चैत्यदेखि, विहार र महाविहार गरी ५३ वटा स्थान तथा विभिन्न देवी देवताका मन्दिरहरु परिक्रमा गरिनेछ भने समयावधि अन्दाजी ३ घण्टा तोकेको छ । जनै पुर्णिमा गुन्हुपुन्हीका दिन ‘बाहाः चाःहिलेगु’ परम्परामा उक्त दिन मात्र खुल्ला हुने विभिन्न बाहाः एवं बहीहरु पनि परिक्रमा गर्न पाउने भएकोले उक्त दिन हुनलागेको रात्रीकालीन सम्पदा यात्रा ऐतिहासिक हुने पक्षमा दुईमत देखिन्नँ ।
पत्रकार सम्मेलनको संयोजन उक्त हेरिटेज होम्सका सल्लाहकार संचारकर्मी नविन जोशीले गर्नुभएको थियो भने उक्त पत्रकार सम्मेलनमा जोशीले उपस्थित सम्पूर्ण पत्रकार एवं संचारगृहलाई धन्यवाद दिदै आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त पत्रकार सम्मेलनमा जोशी ननी हेरिटेज होम्सका सल्लाहकारहरु इन्द्रमुनी बज्राचार्य, चिनिकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम होम्सका सदस्य पुष्परत्न बज्राचार्यले संचालन गर्नुभएको थियो ।
Categorized in उपत्यका

