सडक मर्मत समयमै नसकाएपछि सडक डिभिजन कार्यालयलाई बालेनको धुलो उपहार
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १३, आइतबार
काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडक विभागलाई १ ट्रक धुलो उपहार पठाएका छन् । उक्त धुलो विभागको गेटैमा खन्याइएको छ । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई भने दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् ।
कलङ्कीदेखि महाराजगन्जसम्मको बाटो सुधार र मर्मत नहुँदा विगत १५ वर्षदेखि जनताले सास्ती खेप्नु परेको र महानगरले गाली खानुपरेको भन्दै महासेठलाई दैनिक १ ट्रक धुलो उपहार पठाउने घोषणा बालेनले गरेका हुन् ।
सडक विभागलाई उपहार भन्दै विभागको गेटैमा १ ट्रक धुलो थुपार्नुको कारण भने अर्कै छ । न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा क्यारिजवे घटाउन महानगरले पिच कटर प्रयोग गरी सडक कटिङ गरिरहेको बेला सडक डिभिजन कार्यालयले आफ्नो अनुमतिबिना सडक काटेको भन्दै सडक कटर समेत कब्जा गरेपछि बालेनले यस्तो कदम चालेका हुन् ।
सडक विभागले भने एक विज्ञप्ति नै निकालि यसको विरोध गर्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । विभागले वालेनको शैलीलाई अराजक समेत भनेको छ ।
Categorized in उपत्यका

