STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिद्धिदासको पालादेखि गरिएको संघर्ष अहिलेको प्रतिफल : मल्ल के. सुन्दर

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ८, शनिबार

काठमाडौं - नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोेल्दै नेवाः अगुवा मल्ल के. सुन्दरले नेपालभाषाका महाकवि सिद्धिदास महाजुको पालादेखि गरिँदै आएको संघर्षबाट अहिलेको अधिकार प्राप्त भएकोले भाषा आयोगलाई आवश्यक सहयोग गर्न सबै तयार हुनुपर्ने बताउनुभयो । कर्मचारीतन्त्रको माखेसाङ्लोबाट जोगाउँदै भाषा आयोगलाई काम गर्ने सहज वातावरण बनाइदिनुपर्नेमा आयोगकै विरुद्ध आन्दोलन गर्ने धम्की कतिपयले दिनुलाई मल्लले अप्रासङ्गिक कार्य भएको बताउनुभयो । उहाँले आयोगलाई ‘राष्ट्रिय भाषा सम्मेलन’को आयोजना गर्न समेत सुझाउनुभयो ।

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले आयोगले आफ्नै रफ्तारमा काम गरिरहेको भएतापनि त्यहाँभित्र अनेक व्यवधान समेत रहेको र त्यस्ता व्यवधान आयोग एक्लैले पन्छाएर अगाडि बढ्न गाह्रो हुनेहुँदा सरोकारवालाहरुले पनि यसमा सचेत भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

सोही अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ राजेन्द्र श्रेष्ठले अहिले एआईको जमाना आइसकेकोले भाषालाई प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिनुभयो ।

बागमती प्रदेशका सभासद् एवं पूर्व संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले आफूले मन्त्रालय सम्हाल्दा भाषा र संस्कृति विकासको निम्ति सकेको पहल गरेर बजेट समेतको व्यवस्था गरिदिएको बताउनुभयो ।

भाषासेवी उमेश स्थापितले उपलब्ध बजेटबाट भाषिक पाठ्यपुस्तक निर्माण, शब्दकोष प्रकाशन र यस्ता कामको लागि आवश्यक कर्मचारी जुटाउने काम भइरहेको जानकारी दिनुभयो । डा. पुष्प राजकर्णिकारले बजेट कार्यान्वयनको चरणमा रहेकोले यसबेला विशेष रुपले सचेत हुनुपर्ने बताउनुभयो । कर्मचारीतन्त्रको चंगुल निकै खतरनाक रहने भएकोले यसप्रति पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

अर्का वक्ता दिपक तुलाधरले भाषा आयोग सबैको साझा भएकोले सबै भाषाको उत्थानमा आयोग लाग्नुपर्ने बताउँदै बिरगंजमा भोजपुरी भाषाको प्रवद्र्धन हुनुपर्ने विषय पनि अौंल्याउनुभयो ।

स्रोत : नेपालभाषा समाचार केन्द्र

Categorized in राष्ट्रिय