सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुख नियुक्त
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार
ललितपुर : ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी दिएको छ। ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित ललितपुर महानगरपालिकाले आइतबार नियुक्त गरेको हो।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’ प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
२९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए। नयाँ जिम्मेवारी प्राप्त भएको यसले अब फेरि केही नयाँ काम गर्ने ऊर्जा हाछेथुले प्रतिक्रिया दिएका छन् ।
हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्।
Categorized in उपत्यका