सौर्य एयरलाइन्स जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलट घाइते
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ९, बुधबार
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार 24 July 2024 बुधबारका दिन सौर्य एयरलाईन्सको CRJ7(Reg 9NAME) जहाज काठमाडौंबाट स्थानिय समय अनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिने तिर मोडिन गई रनवेको पूर्व तिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाईतेलाई उद्धार गरि अस्पताल पुऱ्याईको जानकारी गराईन्छ।’
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए।
Categorized in अपराध-दुर्घटना

