स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको तयारी आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १५, बिहिबार
नेपालभाषाका गीतसंगीतको श्रीबृद्दि र कलाकर्मिहरुको प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य लिएर कलाकर्मि स्वतन्त्रसंसार महर्जन ले थालनी गरेको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण छिट्टै आयोजना गर्ने योजना अनुरुप त्यको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।
कार्यक्रममा संसार क्रिएसन्का क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तर लग्ने प्रयास गरेको बताए । ‘यस अवार्डलाई संसारकै ठुलो र लामो अवधिको अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं । तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्दै यसको नाम संसार राष्ट्रिय म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने ।
नेपालीहरुको दोश्रो महान चाड तिहार र नेपाल सम्बत ११४५ नयाँ वर्षको अवसरमा संसार क्रिएसनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा क्रिएटिभ डाइरेक्टर महर्जनले भने । कार्यक्रममा संसार क्रिएसन्सकी संस्थापक प्रेमा संसार महर्जनले संस्थाको परिचयसँगै संस्थाले गर्दै आएका गतिविधिहरुको बारे जानकारी गराइन् ।
ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जन, वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्य, वरिष्ठ निर्देशक तथा रचनाकार पवन जोशीलगायतले आआफ्ना विचार राखेका थिए । साथै नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक एवं पत्रकार विजयरत्न असंबरे, वरिष्ठ संगीतकार राजु सिंह, गायिका साथै संसार संगीतालयकी संरक्षक सरिता महर्जन, प्रकृती प्रेमी समूहका संरक्षक लक्ष्मीनारायण सिं सुवाल र वरिष्ठ साहित्यकार विक्रम भक्त जोशीले तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको शुभकामनासहित आआफ्ना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा संसार अनलाइन टिभी युट्युब च्यानलमा अपलोड भएका गीतहरुका सर्जकहरुलाई भ्यूजको आधारमा रोयल्टी वितरण गरिएको थियो । त्यस्तै युट्युब च्यानलको टप ५ भ्यूज गीतलाई बधाई पत्रसहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा एज्लिना राईले नृत्य र सरीता महर्जन, स्वतन्त्र संसार महर्जन, सरस्वती मानन्धर, राजेन्द्र श्रेष्ठ, सविना मानन्धर, राजेन्द्र शाक्य, एलन शाही, समा डंगोल, राजु नकर्मी, बीणा महर्जन, चेकराम अवाले र प्यारी सुवाल लगायतका गायक गायिकाले गीत प्रस्तुत गरेका थिए ।
Categorized in साहित्य-कला

