STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेटौँडामा बर्डफ्लु नियन्त्रणको प्रयास

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको  विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ ।
यसैगरी ती प्रभावित क्षेत्रबाट कुखुराका अण्डा १८ हजार ५०० र कुखुराको दाना चार हजार १०० केजी पनि खाल्टोमा पुरिएको बताइएको छ । बर्डफ्लुको प्रकोपबाट नष्ट गरिएका कुखुराको करीब रु छ करोड ५० लाख मूल्य बराबरको क्षति भएको र ती कृषकलाई तत्काल प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन आवश्यक कानूनी प्रक्रिया शुरु गरी सकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनाथ खरेलले बताउनुभयो । 
प्रभावित कृषकतर्फबाट प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई हालै भेटी प्रदेश सरकारको तर्फबाट कृषकलाई क्षतिपूर्तिबापत रकम उपलब्ध गराइदिन माग गरिएको वडा नं ७ का अध्यक्ष राजन थापाले बताउनुभयो ।
प्रदेशसभाको केही दिन अघि बसेको बैठकमा विशेष समयमा बोल्नु हुने सदस्यको जिज्ञासामा मुख्यमन्त्री पौडेलले प्रदेशअन्तर्गत पर्ने जिल्लामा क्षति पुगेका कृषकलाई प्रदेश सरकारको तर्फबाट  आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया शुरु गरी सकिएको बताउनुभएको थियो ।
मकवानपुरका विभिन्न गाउँपालिकाका कुखुरा फार्ममा काठमाडौँबाट आएका प्रमुख पशु चिकित्सक डा राम कार्कीलगायतको प्राविधिक टोलीले विभिन्न चरणमा अनुगमन गर्ने र रोग फैलिन नदिने प्रयास शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय