होम आइसोलेसनमा बस्न नमिल्ने संक्रमितलाई महानगरले हेर्छः मेयर शाक्य
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १८, मंगलबार
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज एक कार्यक्रम बीच कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै उहाँले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित बिरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न आग्रह गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाकाका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पहिलो लहर भन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैले अस्पताल खोल्न नसक्ने अबस्था भएकोले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो ।
हेल्पिङ हाएण्ड्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्ने प्रतिवद्धता पोख्नु भयो ।
Categorized in उपत्यका

