STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २८, शनिबार

डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताउनुभयो । निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उहाँले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताउनुभयो । पाँच दिनको अस्पतालको बसाईपछि घर फर्कनुभएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताउनुभयो । यो रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भन्नुभयो, “यो ज्वरोले उठ्नै सक्दिन कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैँ ठीक हुन्छ ।” सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको यो प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गर्नुभयो । कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उहाँले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताउनुभयो । पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गु केहो रु यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । सो अस्पतालमा मात्र साउन १६ गतेयता ४०५ ज्वरोका बिरामी उपचार गरिएकामा तीमध्ये २२३ मा डेङ्गु देखिएको र उनीहरुमध्ये १०५ जनालाई अस्पतालमा नै भर्ना गरेर उपचार गरेको अधिकारीले बताउनुभयो । यसबाहेक बाहिर अस्पतालमा डेङ्गु प्रमाणित भएपछि अस्पतालमा भर्ना भएर ५५ ले सेवा लिएका उहाँले जानकारी दिनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी, गोपाल पौडेललगायतले बोल्नुभएको थियो । हालसम्म जिल्लामा एक हजार ७०० लाई डेङ्गु सङ्क्रमण भएको छ । यो रोगको सङ्क्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा अधिकारीको परामर्शमा तयार गरेको डेङ्गु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरुमार्फत गाउँगाउँमा पु¥याउने काम गरेको छ ।
Categorized in राष्ट्रिय