STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको कडा आपत्ती

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १, शुक्रबार

काठमाडौँ - चलचित्र विकास बोर्डले ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाएको छ । बोर्डका तर्फबाट कार्यकारी अध्यक्ष भुवन केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ती जनाउने उल्लेख गरिएको छ ।

‘भारतीय चलचित्र आदिपुरुषमा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटी सहित नेपालबाहेकका मुलुकहरुमा रिलिज भएको सन्दर्भमा यस चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । यस बिषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टेटमेन्ट र चलचित्र जाँचपास समितिद्वारा मौन गराईएको संवादका बिषयमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका आधारमा सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि जानकी भारतकी छोरी हुन् भन्ने संवादप्रति कडा आपत्ती जनाउँदछौँ’, विज्ञप्तिमा जनाइएको छ ।

बोर्डको विज्ञप्तिमा यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कुटनीतिक सम्बन्धमा खलल पुग्ने हुँदा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत माग गरिएको छ ।

संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, भूतिहरुमाथिको दाबी, सिमा लगायत बिषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । यस बिषयमा गम्भीर चासो लिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई बोर्डले धन्यवाद ज्ञापन समेत गरेको छ ।

Categorized in सिनेमा