STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना कहर : बारा र पर्सामा निषेधाज्ञा, हेटौंडा प्रवेशमा रोक

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौं – कोरोना भाइरस कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका विभिन्न स्थानमा कडाइ तथा निषेधाज्ञा जारी भएको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ । निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ । पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।

बारामा पनि निषेधाज्ञा

यसैगरी, मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

हेटौंडामा प्रवेशमा रोक

यसैगरी, सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको छ । मंगलबार हेटौंडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुबैलाई रोक लगाउने निर्णय गरेको हो । पछिल्ला केही दिनयता लकडाउन केही खुकुलोे पारिएको भए पनि नाकामा सुरक्षा नअपनाउँदा रोग भित्रन सक्ने भन्दै बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडाबाट आवत जावत पूर्ण रुपमा बन्द गर्ने भएको हो । बैठकले भोलि बुधवारबाट दैनिक उपभोग्य सामान बिक्री बाहेक अन्य व्यवसाय खोल्न नदिने भएको छ । उपभोग्य सामान बिहान ९ बजे सम्ममात्र बिक्री गर्न दिने भएको छ भने मेडिकल, भेटेनरी तथा कृषि औषधि पसल सञ्चालनमा रोक नलगाउने भएको छ । बैठकले जेठ १ गतेबाट तरकारी तथा माछामासुको पसल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय