नेपाल र ईजरायलका चिकित्सकबीच राजदूतको पहलमा अनलाइन सम्वाद
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १५, बिहिबार
विजयरत्न असंबरे
कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच अनलाइन सम्वाद अर्थात वेभिनार सम्पन्न भएको छ । नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि अनलाइन भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन इजरायली सरकार, चिकित्सक र यहाँका जनताले गरेका व्यवस्थापकीय, नीतिगत, चिकित्सा तथा अन्यको अनुभव आदन–प्रदानका विषयमा हामीले सम्वाद गरेका हौँ,’ राजदूत शाक्यले भन्नुभयो,’ राजदूत शाक्यले भन्नुभयो, ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन यस्तो सम्वाद सहयोगी बन्ने हामीले अपेक्षा लिएका छौँ । यो सम्वादलाई निरन्तरता दिन्छौँ ।’ राजदूत शाक्यले कठिन परिस्थितिमा नेपाल र ईजरायलका चिकित्सकहरु बिचको सहकार्यलाई घनीभूत बनाउँदै कोरोना संक्रमण व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिनुभयो । इजरायल ले बटुलेको त्यो अनुभव नेपालका लागि पनि उपयोगी हुने ठानेरै नेपाली राजदूत डा. शाक्यको पहलमा इजरायलस्थित नेपाली दूतावासले भर्चुअल वेभिनार गरेको हो ।
सम्वादमा नेपालका लागि ईजरायली राजदूत बेनी ओमार पनि सहभागी हुनुहुन्थ्यो । सो वेभिनार सम्वादमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालका डा अनुप बास्तोला, नेपाल मेडिकल काउन्सिलबाट प्राध्यापक डा भगवान कोइराला सहभागी हुनहुन्थ्यो ।
त्यसैगरी भेरी अस्पताल नेपालगञ्ज, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्ला, सेती अस्पताल, कैलाली, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलगायतका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरु पनि सहभागी थिए । भर्चुअल सम्वादमा ईजरायलबाट सेबा हस्पीटलका प्राडा एली सेचवार्ज र प्राडा माइकल एल एलकेनलगायत पनि सहभागी हुनुहुन्थ्यो ।
सेबा अस्पताल विश्वको सातौं उत्कृष्ट अस्पताल मानिन्छ ।
Categorized in राष्ट्रिय


