एकै दिन संक्रमित बढ्नेमा रेकर्ड, शुक्रबार ४४८ जनामा संक्रमण पुष्टि, संक्रमणबाट मृत्यु हुने १६ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३०, शुक्रबार
काठमाडौं - नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमितमध्ये ८७७ जना उपचारपछि निको भएका छन् ।
शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ। त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १६९ रहेको छ ।
विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको गौतमले बताए ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।
ज्यान गुमाउनेको संख्या १६ पुग्यो
नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । बुधबार निधन भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
Categorized in राष्ट्रिय