STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एउटै मञ्चबाट जनकविको शुभकामना गीत, फिल्म सिद्धान्तको पुस्तक र शर्टफिल्म सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २९, शनिबार

काठमाडौं – नेपाल संवत् ११४१ नववर्षको अवसरमा एउटै मञ्चबाट जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको म्युजिक भिडियो, फिल्मकर्मी राकेश महर्जनको ‘फिल्म सिद्धान्तया खँ’ पुस्तक र महर्जनकै नयाँ शर्टफिल्म ‘कलरफुल अम्ब्रेला’ सार्वजनिक गरिएको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो गीत, पुस्तक र शर्टफिल्म सार्वजनिक गरिएको हो । कार्तिक २८ गते शुक्रबार साँझ नेपाः ब्यांक्वेटमा भएको सार्वजनिक कार्यक्रमलाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठमा प्रत्यक्ष प्रशारण गरेको थियो ।

समारोह समितिको आह्वानमा भएको कार्यक्रममा मुख्य अतिथि महर्जनले नेपाल संवत् राष्ट्रिय संवत्, पहिचानको संवत्, राष्ट्रिय गौरवको संवत् तथा सांस्कृतिक संवत् भएको बताउनुभयो । महर्जनले कोरोना महामारीको अवस्थामा नववर्ष मनाउन जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतले आत्मबल बनाउन ठूलो मद्दत गरेको र यसले नयाँ उत्साह दिएको बताउनुभयो । विमोचत पुस्तकबारे बोल्नुहुँदै महर्जनले भन्नुभयो, “आफूले सिकेको फिल्मको सिद्धान्तलाई लिएर लेखकले लेख्नुभएको पुस्तक उदाहरणीय छ ।”

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतको विषय न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का सचिवालय सदस्य उमेश स्थापितले जानकारी दिनुभएको थियो । महामारीको समय आशावादी भावना बोकेको शुभकामना गीतले जुनसुकै बाधा, अड्चन पन्छाएर गन्तव्यसम्म पुग्न नवीन मार्ग देखाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।

यसैगरी, कार्यक्रममा विमोचित पुस्तकबारे बोल्नुहुँदै वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले नेवार फिल्म क्षेत्रमा सो पुस्तकले इतिहास निर्माणमा पाइला थपेको बताउनुभयो । फिल्म सिद्धान्तको पुस्तक नेपालमा अन्य भाषामा समेत नरहेको अवस्थामा नेपालभाषा सर्वप्रथम आउनु गौरवको कुरा रहेको उहाँले बताउनुभयो । साथै सो पुस्तकलाई खसनेपाली भाषाबाट समेत अनुवाद भए यसले आदिवासी जनजातिलगायत फिल्मकर्मी तथा फिल्मका विद्यार्थीहरुलाई समेत महत्वपूर्ण पाठ्यसामग्री उपलब्ध हुने विजयरत्न असंबरेले बताउनुभयो । उहाँले सबै नेवार सिनेकर्मीले सो पुस्तक पढ्नै पर्ने र पढ्नको लागि समेत आह्वान गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै नेवाः युट्युबका प्रमुख सुजीव वज्राचार्यले नववर्ष उत्सवमात्र नभएर निरन्तर आन्दोलन पनि भएको बताउनुहुँदै यसका प्रणेता पद्मरत्न तुलाधरलाई सम्झनुभयो । वज्राचार्यले नववर्ष मनाउने विविध रुप र विधिभित्र पुस्तक, गीत एवं शर्टफिल्मको सार्वजनिकीकरण पनि एउटा रहेको जनाउँदै नववर्षलाई उत्सवको रुपमा आ–आफ्नो स्थानबाट मनाउन आह्वान पनि गर्नुभएको थियो ।

सो पुस्तक ‘फिल्म सिद्धान्तया खँ’ नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको छ । कार्यक्रममा प्रकाशकका तर्फबाट शिकागो अमेरिकाबाट केशरमान ताम्राकारको भिडियो शुभकामना सन्देश पनि देखाइएको थियो ।

हिजो सार्वजनिक गरिएको जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीतमा पवित्र कसाःको स्वर तथा संगीत रहेको छ भने जीवित जल्मीको संगीत संयोजन रहेको छ । यसैगरी यसको म्युजिक भिडियोको छायाँकन तथा सम्पादन योवन शाक्यले गरेका हुन् ।

यसैगरी, नेवाः युट्युबको प्लेटफर्ममा सार्वजनिक भएको राकेश महर्जन निर्देशित शर्टफिल्म ‘कलरफुल अम्ब्रेला’मा विकेश मानन्धर, सम्यक मानन्धर र प्रमिला रंजितको अभिनय रहेको छ । फिल्मको छायाँकन तथा सम्पादन सागर गहतराजले गरेका हुन् ।

शर्टफिल्म हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला