अग्रज अभिनेत्री चैत्यदेवी सिंहको जन्मदिन कलाकार संघले मनायो
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ५, आइतबार
नेपाल चलचित्र कलाकार संघले अघिल्लो महिनादेखि विशिष्ट कलाकारहरुको जन्मदिन मनाउने कार्यक्रमको थालनी गरेको छ भने यसै क्रममा अग्रज अभिनेत्री चैत्यदेवी सिंहको जन्मदिन पनि मनाएको छ ।
वरिष्ठ अभिनेता तथा निर्देशक विश्व बस्नेतको जन्मदिन मनाएर प्रारम्भ गरेको संघले दोस्रो पटक संघकै उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाको पनि जन्मदिन मनायो ।
शनिवार भने संघले पहिलो नेपाली चलचित्र ‘आमा’ की अभिनेत्री चैत्य देवी सिंहको ७१ औं शुभ जन्मोत्सवका एउटा समारोह नै आयोजना गरेर मनाएको छ ।
जन्मदिनको केक काट्दै अभिनेत्री चैत्यदेवी जीवनमै पहिलो पटक आफ्नो जन्मदिन मनाइरहँदा खुशी भएको बताउँदै आफ्नो कर्मक्षेत्र चलचित्र कलाकार संघले यो अवसर जुटाइदिएकोमा आफ्नो आँखाबाट हर्षको आँशु खसेको बताउनु भयो ।
कलाकार संघकी आजीवन सदस्य तथा ऐतिहासिक चलचित्रकी अभिनेत्री चैत्य देवीको जन्मदिन कलाकारहरुमाझ मनाउन पाउँदा आफ्नो संस्था नै हर्षित भएको संघका अध्यक्ष रवीन्द्र खड्काको भनाइ छ ।
अध्यक्ष खड्काले चैत्यदेवीले खुशी व्यक्त गर्दै संस्था नै गौरवान्वित भएको बताउँदै अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन दिँदै प्रत्येक चलचित्रकर्मीको सुख–दु:खमा एउटा जिम्मेवार अभिभावकका रूपमा रहेर संरक्षकत्व प्रदान गर्नु नै आफ्नो संस्थाको प्रमुख दायित्व र कर्तव्य भएको बताउनु भयो ।
समारोहमा कलाकार संघको वर्तमान कार्यसमितिका उपाध्यक्ष रेजिना उप्रेती लगायत राजेश महर्जन , पवित्रा आचार्य, धर्मेन्द्र अाचार्य , जीवन थापा लगायत वरिष्ठ कलाकार कृष्ण मल्ल , गीतकार सुभासचन्द्र ढुंगेलका साथै विभिन्न चलचित्रकर्मिहरुको उपस्थिति रहेको थियो ।
Categorized in साहित्य-कला

