STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजस्व नतिर्ने क्यासिनो सञ्चालकलाई नेपाल छोड्न रोक

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

२ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरी भाग्न लागेका माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको हो ।

नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नु पर्ने देखिए पनि अहिलेसम्म नतिरी गएराति भाग्न लागेकाले मन्त्री आलेको निर्देशनमा उनलाई नेपाल छोड्न रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

बोल्सोभरले ओसीपी एसियाको लगानीमा साङ्ग्रिला होटल लाजिम्पाट र भैरहवामा रहेको टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व नतिरेर गएराति भाग्न लागेका थिए ।

मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि नेपाल छोड्न रोक लगाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्री आलेको निर्देशनमा नेपालमा सञ्चालनमा रहेका ८ वटा क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड रुपैयाँ राजस्व नबुझाएको बताइएको छ।

एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैर कानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतले समेत यस कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो।

सर्वोच्च अदालतको आदेश विपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएका त्यस कम्पनीका सीईओ राजस्व नबुझाएर मध्यरातमा नेपाल छाड्दै गर्दा विमानस्थलमै रोकिएका हुन् ।

Categorized in अपराध-दुर्घटना