अश्लील एवं अपाच्य शायरी मेटाउँदै ट्राफिक प्रहरी
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २४, शुक्रबार
काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका अश्लील एवं अपाच्य शायरी हटाउन थालेकाे छ।
‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान मोडिँदा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयले ती सामग्री हटाउने अभियान सञ्चालन गरेको हो।
कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
अश्लील र द्विअर्थी भनाइहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको प्रहरी नायब उपरीक्षक राणाले बताए।
त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सूचना जारी गरेको छ। ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ।
Categorized in उपत्यका

