खेलाडीहरूको सम्मानमा मध्यपुरमा भव्य कार्यक्रम
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १, शनिबार
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बधाई तथा सम्मान गरेकाे छ । असाेज २७ गतेदेखि पाेखरामा सुरू हुने प्रतियोगितामा राष्ट्रिय जिम्न्याष्टिक खेलाडीहरू क्रमशः सुमन तामाङ, सुबी भासिमा, जेनिसा थापा र प्रकृति थापामगरलाई मध्यपुरकाे विनायक शिक्षा निकेतन स्कूलले सम्मान गरेकाे हाे । विनायकमा अध्ययन गर्ने राष्ट्रिय खेलाडीहरूलाई प्राेत्साहन स्वरूप ट्रयाकसुट र टिसर्ट समेत प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठले नगरभित्रका खेलाडीहरूलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए । नगरभित्रका राष्ट्रिय खेलाडीहरूकाे पहिचान गरी ठाेस कार्यक्रम ल्याउने उहाँकाे भनाइ थियाे ।
त्यस्तै, स्कूलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले आफ्नै विद्यार्थीहरू राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदा गाैरव महसुस भएको बताए । पढाइसँगै खेलकुदमा इच्छा राख्ने बच्चालाई प्राेत्साहित गर्नुपर्नेमा जाेड दिए । 'खेलकुदमा लाग्दा बच्चाहरूकाे पढाइ बिग्रिन्छ भन्ने अभिभावककाे साेचमा परिवर्तन ल्याउनुपर्छ । हामीले अनुभव गरेकाेमा खेलकुदमा अावद्ध भएका विद्यार्थीहरू झन् अनुशासित छन् । त्यसैले पढाइसँग उनीहरूकाे प्रतिभा देखाउनकाे लागि हामीले माैका दिनुपर्छ ।' प्रजापतिकाे भनाइ थियाे । उहाँले पाेखरामा हुने खेलकुदमा पुरस्कृत हुने खेलाडीहरूलाई स्कूलले पनि नगद तथा पुरस्कारकाे घाेषणा गरे ।
कार्यक्रममा भदाै २९ गते राष्ट्रिय बाल दिवसमा सम्पन्न भएकाे हस्तलेखन प्रतियोगितामा उत्कृष्ट भएका कक्षा ११ र १२ विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।
तुलसीहरी प्रजापतिले सञ्चालन गरेकाे कार्यक्रममा खेलकुदका प्रशिक्षक विजेन्द्र श्रेष्ठ, भाइस प्रिन्सिपल प्रेम निराैला, सञ्चारकर्मी, स्थानियबासी, अभिभावक, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूकाे सहभागिता थियाे ।
Categorized in उपत्यका

