STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार

काठमाडाैं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे ।

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ ।

सबै माननीय साथीमा म हार्दिक अपिल गर्न चाहन्छु कि प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सवलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौँ”, सभापति देउवाले भने ।

उनले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा भने। 

प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सदस्यलाई बधाई दिँदै उनले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वदा सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचित गर्ने जनताको भावनाअनुरुप काम गर्न सांसदहरुलाई अनुरोधसमेत गरे ।

Categorized in राजनीति