उपनिर्वाचन : तनहुँ १ र चितवन २ मा रास्वपा अघि, बारा २ मा कुशवाहा र यादवबीच कडा प्रतिस्पर्धा
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ११, सोमबार
काठमाडौं - तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनपश्चात् जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउदै लगेका छन् ।
पछिल्लोपटक प्राप्त मत परिणामअनुसार वाग्लेले २४४०६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस गोविन्द भट्टराईले १४१८२ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ७०२६ मत पाएका छन् ।
भट्टराईले भने मतगणना नसकिँदै हार स्वीकारेका छन् । उनले सोमबार फेसबुकमार्फत आफूलाई अब्बल प्रमाणित गर्न नसकेको र अझ प्रयास गर्नुपर्ने देखिएको भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ उपनिर्वाचनमध्ये २ क्षेत्रमा जारी मतगणनामा अहिलेसम्म अग्रता लिइरहेको छ । बारा २ बाहेक तनहुँ १ र चितवन २ मा रास्वपाले जनमत बटुलिरहेको छ । तर, बारा २ मा भने रास्वपाले यी दुई क्षेत्रजसरी मत भने पाउन सकेको देखिँदैन ।
यी दुवै क्षेत्रमा मत आफ्नो पक्षमा सोहोरिरहँदा बारा २ मा भने रास्वपा कमजोर देखिएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा र जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यद्यपि, रास्वपाका रमेश खरेल भने थोरै मतका साथ उनीहरुलाई पछ्याइरहेको देखिन्छ ।
अहिलेसम्मको मतपरिणामअनुसार उपेन्द्रले २६०० मत कटाइसकेका छन् भने कुशवाहाले २०६७ मतका साथ कडा टक्कर दिइरहेका छन् । रास्वपाका खरेलले भने ३०३ मतका साथ उनीहरु दुवैलाई कछुवा गतिमा पछ्याइरहेका छन् । यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ८६१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले ३०३ मत ल्याएका छन् ।
उता, चितवन २ मा सुरुवाती मतगणना झिनो मतले पछि रहेका रास्वपाका रवि लामिछानेले मत रफ्तारमा अघि बढाइरहेका छन् । अहिलेसम्म उनले ४३५८ मत कटाइसकेका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २२०५ मत पाएका छन् । अहिलेसम्मको चुनावी मतपरिणामलाई हेर्दा गएको मंसिर ४ को निर्वाचनजस्तै रविले भारी मत ल्याएर विजयी हुन्छन् भन्ने आंकलन गर्न कठीन छैन ।
Categorized in राजनीति

