STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो ।
आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि लिफ्ट सिँचाइ योजनालाई असर पर्नसक्ने भएकाले योजना पछि समस्या देखा पर्ने सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्ण सुवेदी बताउनुहुन्छ । विनयीखोलाको किनारमा रहेको इनार पानी लिफ्ट गरी ठूलोटाँडीको करीब ५० बिघा जमीनमा सिँचाइ गर्ने लक्ष्य रहेको उक्त योजनाको पानीको स्रोत भनेको नै खोला किनारमा निर्माण गरिएका दुई वटा इनार नै हो ।
यो इनारमा औसत पानीको सतह बनाइ राख्न यस क्षत्र वरपर करीब ५०० मिटर क्षेत्रमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था छ । सो नियमको बेवास्ता गर्दै गाउँपालिकाले लगाएको ठेक्कामा  इनार नजिकैबाट नदीजन्य पदार्थ झिकिएपछि समस्या देखिएको हो । आगामी तीन महीनामा निर्माण सम्पन्न गरिसक्ने भनिएको सो सिँचाइ आयोजनामा राज्यको एउटा अङ्गबाट करोडौँ लगानी गर्ने र  स्थानीय सरकारले योजनाको संरक्षणमा ध्यान नदिँदा समस्या देखा परेको सिँचाइ समितिका अध्यक्ष पूर्ण सुवेदी बताउनुहुन्छ । 
गाउँपालिकाले स्थानीयवासीको आग्रहलाई बेवास्ता गर्दै खोला ठेक्काको बन्दोबस्त गरिसकेको स्थानीयको आरोप छ तर, खोलाबाट नदीजन्य पदार्थ निकाल्न सिमाङ्कन गरेर मात्र ठेक्का लगााएकाले सिमाङ्कन मिचेर नदीजन्य सामग्री झिकेको भए प्रहरीले सो कार्य रोक्नुपर्ने गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी बताउनुहुन्छ ।
गाउँपालिकाले ठेक्का गर्दा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्षेत्र सिँचाइको इनार रहेको भूभागबाट केही पर नै तोकेको भनिए पनि इनारको वरपर मात्र होइन इनारकै छेउसम्म पुगी नदीजन्य पदार्थ निकालेको देखिन्छ । त्यसो त यसै क्षेत्रमा तोकिएको क्षेत्रभन्दा पर अन्यन्त्रितरूपमा नदीजन्य पदार्थ दोहन गर्ने कार्यसमेत भएको प्रष्टै देख्न सकिन्छ । गाउँपालिकाले ठेक्का लगाउँदा ख्याल नगर्दा सिँचाइ आयोजनामा समेत समस्या हुने सिँचाइ समितिका सचिव सुन्दर पंगेनी बताउनुहुन्छ । 
इनार क्षेत्रबाट नदीजन्य पदार्थ झिकिएमा आयोजनालाई समेत समस्या हुने भएकाले तत्काल रोक्नुपर्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व ० का  प्रमुख दिनेश रेग्मी बताउनुहुन्छ । करीब १५० घरधूरी रहेको यस दुम्कीबास ठूलोटाँडीका जनता यसअघि एक पटकको सिँचाइ योजना बोरिङको असफलतापछि पुनः यो लिफ्ट सिँचाइ योजनाबाट बेमौसमी तरकारी खेती गरी लाभान्वित हुने सपना लिएका छन् । तर राज्यको सत्ता सञ्चालन र व्यवस्थापन गर्ने अधिकार पाएको स्थानीय तहले राजश्व प्राप्त गर्ने नाममा करोडाँै लगानीमा निर्माणाधीन योजनाको समेत बेवास्ता गर्दा बेमौसमी तरकारीको लागि पकेटक्षेत्र बनाउने सपना बोकेका किसानको सपना अधुरै रहने देखिन्छ ।
Categorized in राष्ट्रिय