STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सफलतापूर्वक सम्पन्न भो नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”

Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ फाल्गुण १३, मंगलबार

कीर्तिपुर/नेपालभाषा चलचित्र जगतको संवर्द्धन, प्रवर्द्धन एवं संरक्षण गर्ने हेतुका साथ सिनेमा हलको बक्स अफिसबाट टिकट खरिद गरी नेपालभाषाका चलचित्रहरु हर्ने प्रवृत्तिको विकास एवं विस्तार गर्ने उद्देश्यका साथ एवं नेपालभाषाका चलचित्रहरु पनि नेपाल चलचित्र विकास बोर्डमा दर्ता गरी प्रदर्शनीमा ल्याउनुपर्ने उद्घोषका साथ गत फागुन ११ गते आइतबार नेवाः फिल्म नेवाः फुड फेस्टिभल कार्यक्रमको आयोजना गरियो ।

कीर्तिपुर सिनेप्लेक्स हलमा भएको उक्त फेस्टिभल कीर्तिपुर सिनेप्लेक्स, नेपाल कला संस्कृति उत्थान समाज र कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा भएको थियो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री पुकार महर्जन एवं कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यता रहेको थियो भने कीर्तिपुर नगरपालिका ८ वडाका वडाध्यक्ष सानुमैंया महर्जनको विशेष उपस्थिति रहेको थियो । 

उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा बागमती प्रदेश सांसद एवं पूर्वमन्त्री पुकार महर्जनले नेपालभाषाका चलचित्रहरुको उत्थानका लागि बागमती प्रदेशबाट आर्थिक एवं भौतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले नेपालभाषाका चलचित्र प्रवद्र्धनका लागि नगरपालिकाले योजना बनाई अगाडि लाने विचार राख्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा नेपालभाषाका चर्चित अभिनेत्री आराध्यालक्ष्मी खड्गीको पनि उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रममा कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष एवं चलचित्रकर्मी नरेन्द्र महर्जन तथा नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले प्रमुख अतिथि एवं अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । 

नेवाः फिल्म नेवाः फुड फेस्टिभलमा नेवाः परिकारहरुको स्टलका साथ पाँच वटा उत्कृष्ट नेपालभाषाका चलचित्रहरु प्रदर्शन गरिएको थियो । उद्घाटन पश्चात् चलचित्र “गालय् वन”, “सेरिब बञ्जा”, “लिबाय् धुंकाः”, “हिसिमति” र “ख्याः वल” प्रदर्शन गरिएको थियो ।

करिब पाँच सय भन्दा बढी दर्शकहरुको उपस्थितिमा उक्त चलचित्रहरु प्रदर्शन गरिएको थियो भने कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन, वडाध्यक्षहरु १ वडाका पूर्व वडाध्यक्ष हर्ष महर्जन, २ वडाका पूर्व वडाध्यक्ष रमेशमान डंगोल, ५ वडाका पूर्व वडाध्यक्ष अरुण डंगोल तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु एवं सर्वसाधारण दर्शकहरुको उपस्थिति रहेका थिए ।

आयोजक संस्था कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष एवं चलचित्रकर्मी नरेन्द्र महर्जनले नेपालभाषाका चलचित्रहरु निर्माण मात्र गर्ने नभई निर्माण पश्चात् नेपाल सरकारको चलचित्र विकास बोर्डमा दर्ता गरी प्रदर्शनीमा ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । महर्जनले दर्ता भएका चलचित्रहरु बक्स अफिसबाट टिकट काटी प्रदर्शन गरेको खण्डमा नेपालभाषाका चलचित्रहरु पनि नेपाल सरकारसमक्ष अभिलेखीकरण हुने र मान्यता प्राप्त चलचित्रको रुपमा जहाँ सुकै प्रदर्शन पनि गर्न सकिने जानकारी दिनुभयो । 

महर्जनले अबका दिनहरुमा नेपालभाषाका चलचित्रहरुको उत्थानमा आफूले पाईला चाल्ने प्रतिबद्धता जाहेर गर्नु हुँदैनेपालभाषाका चलचित्रहरु अन्य भाषाका चलचित्रहरु सरह बक्स अफिसबाट टिकटको व्यवस्था गरी कीर्तिपुर सिनेप्लेक्स लगायत उपत्यकाका अन्य हलहरुमा एकैसाथ प्रदर्शनीमा ल्याउने प्रयास गर्ने पनि जानकारी दिनुभयो । 

नेवाः फिल्म नेवाः फुड फेस्टिभल आयोजक कीर्तिपुर सिनेप्लेक्स, नेपाल कला संस्कृति उत्थान समाज र कीर्तिपुर मिडिया हाउसले अबका दिनमा प्रत्येक महिना नेपाल सरकार चलचित्र विकास बोर्डमा दर्ता भएका नेपालभाषाका चलचित्रहरुको महोत्सवको रुपमा प्रदर्शन गरिने जानकारी पनि दिएको छ ।

Categorized in सिनेमा