ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार
तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्नुहुन्छ ।
मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उहाँलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर प्रदान गरेपछि उहाँमा खुशी छाएको छ ।
“बिग्रिएको ह्विलचियर मर्मत गर्दै दुई वर्षदेखि प्रयोग गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “नयाँ ह्विलचियर पाएपछि खुशी लागेको छ ।” पुरानो ह्विलचियरमा हिँड्दा समस्या हुने गरेको र अब नयाँ ह्विलचियर पाएपछि सहज हुने उहाँले बताउनुभयो ।
व्यास नगरपालिका–६ का प्रतिमा श्रेष्ठसमेत नयाँ ह्विलचियर पाएपछि खुशी हुनुहुन्छ । पुरानो ह्विलचियर बिग्रिएर हिँड्डुल गर्न समस्या भएपछि उहाँलाई नयाँ ह्विलचियरको आवश्यकता थियो । “पुरानो ह्विलचियरमा हिँड्दा कहिलेकाहीँ लड्ने समस्या थियो, नयाँ ह्विलचियरको खोजीमा थिएँ”, उहाँले भन्नुभयो, “रिसेडले नयाँ ह्विलचियर प्रदान गरेपछि खुशी लागेको छ ।”
उहाँ सोही वडाको जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ ह्विलचियरमा विद्यालय जान÷आउन अब सजिलो हुने भयो ।”
भक्तबहादुर र प्रतिमा मात्र होइन अन्य १८ अपाङ्गता भएका व्यक्तिसमेत ह्विलचियर पाएपछि खुशी हुनुहुन्छ । बन्दीपुर गाउँपालिका–२ का प्रमिला कुँवर जोगीले निःशुल्क ह्विलचियर पाएपछि सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा तिरेर खरीद गर्नुपरेको भए समस्या थियो । निःशुल्क ह्विलचियर उपलब्ध गराएर आयोजकले गुन लगाएको छ ।”
रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा २० जनालाई ह्विलचियर वितरण गरेको छ । करीब रु सात लाख मूल्य बराबरको ह्विलचियर वितरण गरिएको रिसेड तनहुँका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो । ह्विलचियर पाउनेमा व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति रहेको रिसेडका महासचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईका अनुसार समाजले देशका विभिन्न ठाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गर्ने गरेको छ । नेपालमा वार्षिक तीन हजार ५०० भन्दा बढी ह्विलचियरको माग भए पनि दुई हजारलाई मात्रै ह्विलचियर वितरण गर्न सकिएको उहाँले जानकारी दिनुभयो । समाजले सन् २००६ देखि नेपालमा १५ हजारभन्दा बढी ह्विलचियर वितरण गरिसकेको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्राविधिक सुनिता रिजालले नेपालमा तीन प्रकारको ह्विलचियर वितरण भइरहेको छ । उचित स्याहारसुसार गरेको खण्डमा ह्विलचियर तीन वर्षसम्म टिक्छ । समाजले घिरिङ गाउँपालिकामा सातलाई र भिमाद नगरपालिकामा १० लाई ह्विलचियर वितरण गरिसकेको छ ।
Categorized in राष्ट्रिय