श्रमिक अर्थतन्त्रको मेरुदण्ड हो ः मन्त्री घिमिरे
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार
श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् ।
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ ।
‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख नाराकासाथ १३० औँ अन्तराष्ट्रिय मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० र अखिल नेपाल ट्रेड युनियन महासङ्घ ९अन्टुफ०द्वारा आज यहाँ आयोजित समारोहमा वक्ताले सो धारणा राखेका हुन् ।
कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका श्रमिकको हकहित र अधिकारलाई सरकारले सुदृढ गर्दै लैजाने बताउनुभयो ।
उहाँले तीन तहको निर्वाचनपछि बनेका तीन तहका सरकारले श्रमिक ऐन पालना गर्ने र यसबाट मजदूर लाभान्वित हुने भन्दै श्रमिकले कति पनि द्विविधा नराख्न आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले न्यूनतम ज्याला पाउन नसक्ने मजदूरको पारिवारिक अवस्थालाई ध्यानमा राखेर पनि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत चौधरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत सिङ्खडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासङ्घ मोरङका अध्यक्ष टीका प्रसाईं र सचिव निलम ढुङ्गेलले मजदूरका समस्या समाधान भएमा देशले काँचुली फेर्ने विचार व्यक्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


