STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाइप खरीदपछि अलमलमा खानेपानी आयोजना

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३÷७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो । पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताउनुभयो । संस्थानले राप्ती नदीको सिधनिया पुल नजिक सम्पवेलमार्फत राप्ती नदीको पानी तानेर नेपालगञ्ज ल्याउने योजना बनाएको छ । नेपालगञ्ज र बुटवलका लागि रु २५–२५ करोडको पाइप खरीद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगञ्ज भन्सारबाट रु १२ करोड र भैरहवा भन्सारबाट रु १३ करोडको सामान आयात गरेको देखिन्छ । उक्त आयोजनाका लागि आर्थिक वर्ष २०७४÷७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरीद गर्न रु २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो । निर्माण गर्न बुटवलका लागि रु २६ करोड २४ लाख र राप्तीका लागि रु २५ करोड ७६ लाख लागत तय गरिएको थियो । भूमिगत जलस्रोतबाट नेपालगञ्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको जनाएको छ । राप्ती नदी किनारमा इन्टेक बनाएर नेपालगञ्जको फुल्टेक्रास्थित नेपाली सेनाको ब्यारेकबाट सुर्जीगाउँतर्फ सहायक लाइन विस्तार गरिने भएको छ । “सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ”, कार्कीले भन्नुभयो । त्यस्तै राप्ती नदीबाट संस्थानको कार्यालयमा भएको ट्याङ्कीमा पानी ल्याउने योजना छ । सोह्र किलोमिटर मुख्य पाइप लाइनबाट नेपालगञ्जमा रहेको संस्थानको मुख्य ट्याङ्कीमा पानी ल्याउने योजना संस्थानको छ । “हातेपम्प, ट््युबवेल, डिपबोरिङ, इनारलगायतका माध्यमबाट उपलब्ध खानेपानीलाई विस्थापित गर्न नयाँ योजना ल्याइएको हो”, उहाँले भन्नुभयो । राप्ती नदीबाट राप्तीपथ हुँदै नेपालगञ्जसम्म २० इन्च पाइपबाट खानेपानीको मुख्य लाइन विस्तार गर्ने योजना छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेको खानेपानी ट््याङ्कीमा ल्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ ।
Categorized in राष्ट्रिय