STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा जीर्णोद्वारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सङ्घीय सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त रु ८२ लाखको लगानीमा जीर्णोद्वार थालिएको हो । धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध हलेसीमा पुरानो संरचनामा असर नपुग्ने गरी जीर्णोद्वार शुरु गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । “चट्टानको बीच भागमा रहेको गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ”, उहाँले भन्नुभयो, “प्राकृतिकरूपले बनेका कुनै पनि संरचनालाई नछोइ जीर्णोद्वारको काम शुरु गरिएको हो ।” विसं २०४४÷४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, र शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा सिमेन्ट हटाएर प्राकृतिकरुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर हटाएर तामाको खम्बा राखिएको छ । गुफा प्रवेशद्वारको भित्री भागमा सिमेन्ट प्रयोग गरेर बनाइएको सिँढीमा अहिले ढुङ्गा बिच्छ्याइएको छ । यसअघि एउटा मात्र आवतजावत गर्ने मार्ग रहेको गुफाभित्र अहिले दर्शनार्थीको भीडलाई मध्यनजर गरेर छुट्टाछुट्टै मार्ग निर्माणको काम भइरहेको कार्यकारी निर्देशक भुजेलले बताउनुभयो । नगरपालिकाले न्यूनकतम रु एक करोड १० लाखको लागतमा जीर्णोद्वारका लागि बोलपत्र आह्वान गरिएकामा काठमाडौँस्थित प्रतिक्षा कन्ट्रक्सन प्रालि जीर्णोद्वारको काम जिम्मा पाएको नगरप्रमुख इवन राईले बताउनुभयो । उहाँका अनुसार गत असार मसान्तभित्र सम्पन्न गर्ने गरी प्रतिक्षा कन्ट्रक्सन प्रालिका प्रतिनिधिसँग नगरपालिकाले सम्झौता गरेको थियो । त्रिधार्मिकस्थल हलेसीको जीर्णोद्वारको काम अन्तिम चरणमा पुगेकाले यही साउन अन्तिमसम्ममा सम्पूर्ण काम सकेर विकास समितिलाई जिम्मा दिने तयारी गरिएको निर्माण कम्पनीका प्रतिनिधि जितेन्द्रसिं ठकुरीले बताउनुभयो । “जिल्लामा असार २३ गतेदेखि लगातार वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “अविरल वर्षा हुँदा पनि साउन अन्तिमसम्म काम सकाएर हस्तान्तरण गर्नेछौँ ।” सङ्घीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि यस आर्थिक वर्षका लागि रु ८० लाख बजेट विनियोजन भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “हलेसी खोटाङको मात्र नभइ देशकै एउटा नमूना तथा प्राकृतिक गुफा हो”, उहाँले भन्नुभयो, “पुरातत्व विभाग, भूगर्भविद् र मन्दिर व्यवस्थापन समितिको सुझावको आधारमा हलेसीको जीर्णोद्वार गर्न थालिएको हो ।” जीर्णाद्वारको काम सम्पन्नपछि हलेसीको रूप पुरानै शैलीमा फर्कने जनाइएको छ । अहिले निर्माण भइरहेका संरचनामा गुफाकै रङको नयाँ रङ हालिने निर्माणस्थलमा खटिनुभएका इञ्जिनीयर सरोज अवालले जानकारी दिनुभयो । हलेसी मन्दिरको मुख्य गुफा अर्थात् महादेव र पार्वतीको मन्दिर रहेको गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो प्राकृतिकरूपले नै बनेको बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाहरुको प्राकृतिक सौन्दर्यको वर्णन मात्रै हो । यसबाहेक हलेसी त्रिधार्मिकस्थलको रूपमा पनि विश्वभर चर्चित भएकाले वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भूटान, जापान, अमेरिकालगायत मुलुकका धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी तुवाचुङ नगरपालिका–४ मा पर्छ । हलेसीमा शिव र पार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाबाट तराईसँगको सिधा यातायात शुरु भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको छ । हिन्दू धर्मालम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोस्रो लुम्बिनी र किराँतीहरुले आदिम भूमि मान्ने भएकाले र प्राकृतिक सौन्दर्यताका कारण पनि एक पटक जानै पर्ने ठाउँ बनेको हो । सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेकाले सहजरूपमा बस तथा जिपमा यात्रा गर्न सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् । तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जिप यात्रापछि हलेसी पुग्न सकिन्छ । तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुङ्गाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ । यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जिप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ । हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू छन् । यहाँभित्र छिरे पाप नष्ट हुनाका साथै धर्म कमाइने जनविश्वास छ ।
Categorized in राष्ट्रिय