STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युतीय बसको सञ्चालन खर्च अत्यन्तै कम

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ४, बुधबार

विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उहाँको भनाइ छ । खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । उहाँले भन्नुभयो, “सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।” विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उहाँले बताउनुभयो । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ ।
Categorized in राष्ट्रिय