कामपाले काठमाडौंमा र्यापर यमबुद्धको शालिक राख्ने
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार
काठमाडौं - काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्यापर यमबुद्धको शालिक बनाउने भएका छन्।
पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।
उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए।
शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन्।
बालेन शाहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन्। काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।
वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ।
शाह स्वयंले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए।
Categorized in उपत्यका


